जल तथा मौसम विज्ञान विभागले यसपालिको वर्षा याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यसले गतवर्षभन्दा बढी जोखिम बढाउने देखिएको छ । यस वर्षको मनसुन–ऋतुको हावापानी आँकलन सार्वजनिक गर्दै देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो । हुन त अहिले प्रि–मनसुनको अवस्था हो । तर अहिले पनि देशभर औसतभन्दा बढी वर्षा भइरहेको छ । करिब ५ दिनअघि काभ्रेको रोशी खोलामा आएको बाढीले एकजना बेपत्ता भएका थिए । १५ दिनको आसपासमा आएको वर्षा र त्यसपछिको बाढीका कारण दर्जनांै स्थानमा सडक अवरुद्ध भएको छ भने केही स्थानमा अझै सडक खुल्न सकेको छैन ।
यो वर्षको मौसम प्रक्षेपणमा पनि देशभर औसतभन्दा बढी वर्षा हुने र बढी गर्मी हुने औंल्याइएको छ । जेठ १८ देखि असार १६ गतेसम्म सरदरभन्दा बढी वर्षा हुनेछ भने असार १७ गतेदेखि वर्षा कम हुने सम्भावना छ । मौसम विभागले यो मनसुनमा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । कर्णाली र बागमतीको अधिकांश भूभाग, लुम्बिनीको मध्यभाग, मधेसको पश्चिमी भूभाग र कोशी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने देखाएको छ । त्यसै गरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी, गण्डकी प्रदेशको उत्तर–पूर्वी र कोशी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको भनाइ छ ।
विभागका अनुसार सन् २०२० देखि नै अधिकतमसँगै न्यूनतम तापक्रम पनि लगातार बढिरहेको छ । यो वर्ष हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् । नेपालको भौगोलिक बनावटअनुसार हिमाली र पहाडी क्षेत्रमा पर्ने पानी बगेर तल झर्ने भएकाले त्यसले तराई÷मधेसमा जोखिम हुने सम्भावना देखाएको छ । नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ । यो अवधिमा वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशतसम्म वर्षा हुन्छ । त्यसैले वर्षाले बालीनाली सप्रिए पनि बाढी, पहिरो, डुबानजस्ता विपत्तिले जनधनको क्षति पनि हुने गर्दछ ।
जल तथा मौसम विज्ञान विभागको मनसुन रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा २०८१ सालमा अति भारी वर्षा र उत्पन्न बाढीजन्य घटना झन्डै तीन गुणाले वृद्धि भएको थियो । भारी वर्षा र पहिरोको कारणले ३५१ जनाको र बाढीबाट मात्रै ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार विगत १० वर्षलाई हेर्दा मनसुन अवधिमा विपद्जन्य घटना र मृत्युदर पनि बढिरहेको छ । एक दशकको अवधिमा औसतमा ८४२ वटा विपद्जन्य घटना हुने गरेको र २७४ जनाको मृत्यु हुने गरेको प्राधिकरणको तथ्यांक छ । बर्सेनि हुने बाढी–पहिरोको घटना न्यूनीकरण गर्न सरकारले बेलैमा ध्यान दिन नसके यो वर्ष पनि यसबाट ठूलो धनजनको क्षति हुन सक्छ । त्यसैले बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि समयमै ध्यान पु¥याउनु जरुरी छ ।











प्रतिक्रिया