पाटीभित्रैबाट गृहमन्त्रीको राजीनामा माग

दोषी ठहरिए राजनीतिबाटै संन्यास लिने गृहमन्त्रीको स्पष्टोक्ति


काठमाडौं

नेकपा एमाले नेतृत्वको सरकारमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा विवादमा तानिँदै आउनुभएके छ । आफ्नै पाटी कांग्रेस भित्रैबाट लेखकको राजीनामा माग्न थालिएको छ । तर उहाँले आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै आफू दोषी ठहरिए राजनीतिबाटै संन्यास लिने उद्घोष गर्नुभएको छ ।
उहाँले शनिवार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो– ‘म दोषी भए गृहमन्त्रीबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु ।’ उहाँले आफूलाई अनावश्यक रूपमा विवादमा तान्ने काम भइरहेको टिप्पणी गर्दै भन्नुभयो– ‘दोषी ठहर भए म भाग्दिनँ, तर अनावश्यक रूपमा मेरो चरित्र हत्या गर्न खोजिएको हो भने त्यसलाई कदापि स्वीकार गर्न सक्दिनँ ।’ लेखकले सेटिङमा लागेको प्रमाणित भए, गृहमन्त्रीको कुर्सीमात्र होइन, राजनीतिबाटै बिदा लिने घोषणा गर्नुभएका उहाँमाथि दल भित्रैबाट समेत प्रश्न उठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा नेपाली युवाहरूलाई भिजिट भिसामा विदेश पठाउने र त्यसबापत मोटो रकम असुल्ने प्रकरणमा लेखकमाथि प्रश्न उठ्न थालेपछि उहाँको राजीनामाको माग चुलिन थालेको छ भने सत्ता पक्ष र प्रतिपक्ष दुवै तर्फबाट गृह मन्त्री लेखकमाथि दबाब बढ्दै गएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि गृहमन्त्री लेखकको राजीनामा माग्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘गृहमन्त्रीजस्तो संवेदनशील पदमा रहेका व्यक्तिले नै यस्तो गम्भीर प्रकरणमा विवादित हुनु अत्यन्तै दुःखद हो । लेखकजीले नैतिकता देखाउँदै तत्काल राजीनामा दिनुपर्दछ ।’

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ‘सेटिङ’ मा भिजिट भिसा प्रकरण चलिरहेको भन्ने आरोप व्यापक बन्दै गएको छ । नेपाली युवाहरूलाई वैदेशिक रोजगारीको सपना देखाएर भिजिट भिसामा खाडी र अन्य मुलुक पठाउने क्रम बढेको छ । एक युवाले गुनासो गर्दै भने– ‘हामीले एजेन्टमार्फत भिजिट भिसा प्रक्रियामा लाखौं तिरेका छौं ।’

यसअघि पनि गृह मन्त्रालयको प्रत्यक्ष जिम्मेवारीमा रहेका अधिकारीहरूमाथि यस्ता आरोप लाग्दै आएका थियो । भिजिट भिसाको नाममा ठगी, मानव तस्करीजस्ता घटनाले बारम्बार समाचारको प्राथमिकता पाउँदै आएको छ ।

यसबीच, भिजिट भिसा प्रकरणमा नयाँ मोड आउन थालेपछि सरकारले गम्भीर ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ । गृह मन्त्रालय स्रोतका अनुसार केही अनुसन्धान प्रक्रिया अघि बढेको छ भने त्रिभुवन विमानस्थलमा हुने सेटिङ रोक्न उच्च निगरानीका लागि टोली खटाइएको छ । तर, राजनीतिक दलभित्रैको आन्तरिक आरोप–प्रत्यारोप र नेताहरूको वक्तव्यबाजीका कारण प्रकरण झन् पेचिलो बन्दै गएको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाली युवाहरूलाई भिजिट भिसामा विदेश पठाउने ‘सेटिङ’ प्रकरणले चुलिँदै गएको बेला अध्यागमन अधिकृतसहितको समूहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । अध्यागमन प्रमुख तीर्थ भट्टराईसहित केही अधिकारीहरूमाथि गम्भीर आरोप लागेपछि अख्तियारले उहाँहरूलाई सोधपुछका लागि बोलाएको छ ।

स्रोतका अनुसार त्रिभुवन विमानस्थलमा सेटिङको माध्यमबाट भिजिट भिसा प्रक्रियालाई सहज गराइदिने र त्यसबापत मोटो रकम असुल गर्ने कार्यमा अध्यागमनका अधिकारीहरूको संलग्नता रहेको आशंका गरिएको छ । भिजिट भिसामा विदेश गएका युवाहरूलाई रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै अख्तियारले उक्त प्रकरणलाई उच्च प्राथमिकतामा राखेर छानबिन गरिरहेको छ ।

छानबिनका क्रममा अध्यागमनका केही कर्मचारीमाथि कागजात संकलन र मोबाइल डेटा अनुसन्धानसमेत भइरहेको छ । यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग तीव्र रूपमा उठेको छ ।