–केही दिन झापाको दमकमा
–आन्दोलनको पहिलो दिनपछि भेटघाट गर्ने
–पूर्व र तराईका राजावादीलगायतसँग राजनीतिक भेटघाट
काठमाडौं।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन शुरू गर्न चार दिनअघि आज पूर्वराजा ज्ञानेन्द्र शाह झापा जानुहुने भएको छ । उहाँ केही पूर्वराजपरिवारका सदस्यसहित आज आइतबार साँझ ५ बजे दमक जान लाग्नुभएको हो । उहाँको साथमा छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा, निजी सचिव सागर तिमल्सिनालगायतको टोली हुनेछन् ।
पूर्वराजा ज्ञानेन्द्रको सवारी र सुरक्षासहितको कन्भेटोली शुक्रवार नै झापा पुगिसकेको छ । सो टोलीले सो क्षेत्रको वस्तुअवस्थाको बारेमा रेकी गरी सुरक्षा जानकारी दिइसकेको छ । सबै तयारी भएपछि आज आइतबार बुद्ध एयरको विमानबाट झापा आउन लाग्नुभएको स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
राप्रपा र राप्रपा नेपाल र राजावादीसंघ संगठनले हिन्दुराज्य र राजतन्त्र ल्याउन जनआन्दोलन शुरू गर्नुअघि पूर्वराजा ज्ञानेन्द्र झापा जानु महत्वपूर्ण दृष्टिकोणले हेरिएको छ । राजधानी केन्द्रित आन्दोलनपछि राजधानीमा पूर्वराजालाई नजरबन्दमा राख्न सक्ने हल्ला चलेकै बेला उहाँ झापा पुग्नु रहस्यमय छ । कति दिन झापा बस्ने ठेगान छैन । उच्च स्रोतका अनुसार अनिश्चित समयसम्मका लागि उतै बस्ने कार्यक्रम तय भएको छ ।
झापाबाटै आन्दोलनको अवस्था, परिचालन, राजनीतिक भेटघाटसम्मको कार्यक्रम हुन सक्ने छ । झापा रहँदा उहाँले पूर्व र तराईका राजावादीसँग भेटघाट गर्ने र आन्दोलनलाई देशव्यापी रूपमा कसरी सशक्त बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
समितिले गणतन्त्र दिवसको दिन अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ । समितिले यो आन्दोलनलाई राजालाई गद्दीमा राख्ने निर्णायक आन्दोलनको रूपमा लिएको छ । पूर्वराजा ज्ञानेन्द्रले बिहीबार आन्दोलनको नेतृत्व गरिरहेका समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेर निर्देशन दिनुभएको थियो । सोमबार होटल सोल्टीमा वास बस्न पुग्नुभएका पूर्वराजा शाहले बिहीबार लन्च मिटिङ गर्नुभएको थियो ।
समितिले आन्दोलनमा धडपकड हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार मागेको छ । आन्दोलन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनमा धडपकड भए सामूहिक पक्राउ दिन आहवान गर्नुभएको छ । गएको चैत १५ गते राजतन्त्रको माग गर्दै भएको आन्दोलनले उग्र रूप लिएको थियो । दुई जनाको मुत्यु भएको सो आन्दोलन हिंसात्मक भएको थियो । आन्दोलनका संयोजक सुवेदीलाई नजरबन्द गरेको थियो । आन्दोलनको संयोजक दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई पक्राउ गरेको थियो । मिश्र छुटिसकेका छन् भने प्रसाईं हिरासतमा छन् ।
फेरि चैत १५ गतेकै जस्तो हिंसात्मक आन्दोलन हुन सक्ने आँकलन गर्दै आन्दोलनका भित्री नेतृत्वकर्ता पूर्वराजा शाह झापा जाने हुनुभएको हो । उच्चस्रोतका अनुसार उहाँले झापाबाटै आन्दोलनको नेतृत्व र निर्देशन गर्नुहुने कार्यक्रम छ । पहिलो दिनको आन्दोलनपछि सरकारले कस्तो रणनीति अपनाउने हो भन्ने विषयमा झापाबाटै समीक्षा हुनेछ । आन्दोलनको केही दिनबाट राजधानीको सुरक्षा व्यवस्था कडा पारिने भएको छ । आन्दोलनमा सहभागी हुन देशैभरबाट राप्रपा, राप्रपा नेपाललगायत राजावादी काठमाडौं आउने भएका छन् ।
यसैबीच आन्दोलनको ५ दिनअघि हिजो साँझ उपत्यकाबासीलाई आन्दोलनमा सहभागी हुन निम्तो दिन घरदैलो कार्यक्रम शुरू गरेको छ । काठमाडौंवासीको सक्रिय सहभागिताको आग्रह गर्दै जमलबाट घरदैलो कार्यक्रम शुरू गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रम १३ गतेसम्म चल्नेछ । जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुरलगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन निम्तो दिन लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू घरदैलोमा सहभागी हुनेछन् ।
घरदैलो कार्यक्रममा शीर्ष नेताहरूले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्र्ने कार्यक्रम तय भएको छ । सरकारले तीन दिनसम्म भव्य रूपमा गणतन्त्र दिवस मनाउँदै गर्दा राजावादीले हिन्दुराज्य र राजतन्त्र ल्याउन आन्दोलन शुरू गर्न लागेपछि दुईपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ । आन्दोलनमा अप्रिय घटना हुन नदिन सरकार शान्तिपूर्ण आन्दोलन गर्न राजावादीलाई आग्रह गरिसकेको छ ।
राजधानी केन्द्रित आन्दोलनपछि राजधानीमा पूर्वराजालाई नजरबन्दमा राख्न सक्ने हल्ला चलेकै बेला उहाँ झापा पुग्नु रहस्यमय छ । कति दिन झापा बस्ने ठेगान छैन । उच्च स्रोतका अनुसार अनिश्चित समयसम्मका लागि उतै बस्ने कार्यक्रम तय भएको छ ।
यसैबीच आन्दोलनमा सहभागी जनाउन आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पेसा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने हुनुभएको छ । भोलि सोमबार राष्ट्रिय सभागृहमा उक्त संवाद आयोजना गरिएको हो । राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ ।











प्रतिक्रिया