काठमाडौँ
नेपालको एकमात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले क्रेडिट रेटिङ संस्था आइसीआरए नेपालबाट छैठौं पटक आइसीआरएएनपी–आइआरे “एएए“ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्न उच्च सक्षमता राखेको देखाउँछ, जसले गर्दा लगानीकर्ताको जोखिम न्यूनतम हुने बताइएको छ ।
आइसीआरए नेपालले बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता र सम्पत्तिको गुणस्तर मजबुत भएकाले यो रेटिङ दिएको बताएको छ। चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात (सीआरएआर) १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ प्रतिशत र ८.५ प्रतिशतभन्दा धेरै बढी हो ।
बैंकको नन–पर्फर्मिङ लोन (एनपीएल) १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गका बैंकहरूको औसत ५.०५ प्रतिशतभन्दा कम छ । यसले बैंकको उधारी प्रणाली, जोखिम नियन्त्रण र प्रतिस्पर्धी ब्याजदर दिने क्षमतामा सुदृढता रहेको देखाउँछ ।
बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) तथा हेड अफ कभरेज गोरख राणाले भने, “छैठौं पटक ‘एएए’ रेटिङ प्राप्त गर्नु हाम्रो सेवा प्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिबिम्ब हो। यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ ।”
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा करिब ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड समूहको रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र नेपालभर सबैभन्दा कम लागतमा जम्मा संकलन गर्ने बैंकको रूपमा स्थापित छ ।











प्रतिक्रिया