जर्मनीको ह्याम्बर्ग रेल स्टेशनमा चक्कु आक्रमण : १७ जना घाइते, एक महिला पक्राउ


काठमाडौँ। 

जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा शुक्रबार साँझ भएको एक चक्कु आक्रमणमा कम्तीमा १७ जना घाइते भएका छन्। घटनास्थल ह्याम्बर्गको मुख्य रेलवे स्टेशन हो, जहाँ आक्रमण स्थानीय समय अनुसार साँझ ६ बजे तिर भएको बताइएको छ।

हमलापछि सुरक्षाकर्मीले तुरुन्तै कारबाही गर्दै एक ३९ वर्षीया जर्मन  महिलालाई घटनास्थलबाटै  पक्राउ गरेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार ती महिलाले एक्लै हमला गरेकी हुन् र उनको कार्यको पछाडि कुनै राजनीतिक उद्देश्य नरहेको प्रहरीको भनाइ छ।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले पुष्टि गरेको विवरण अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र ज्यान जोखिममा परेको आशंका गरिएको छ। प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथका अनुसार, हमलाकारी मानसिक समस्याबाट ग्रसित हुन सक्ने आशंका गरिएको छ।

सामाजिक सञ्जाल X मा गरिएको प्रहरीको पोस्टमा पनि घटनामा धेरै मानिसहरू घाइते भएको र स्थिति नियन्त्रणमा ल्याइएको जनाइएको छ।

अहिलेसम्म हमलाको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी छ। -बीबीसीबाट