काठमाडौं ।
पछिल्लो समय बजारमा व्यापक रूपमा फैलिएको एउटा चर्चाले नेपाली राजनीति तातेको छ । त्यो हो नेपाली कांग्रेस राजसंस्थाप्रति लचिलो बन्दै गयो भन्ने ।
सामाजिक सञ्जाल तथा केही प्रभावमा परेका सञ्चार माध्यमहरूबाट ‘पूर्वराजा ज्ञानेन्द्र शाहको पुनरागमनका लागि कांग्रेसले बाटो खोल्न लागेको’ भन्ने आशयका सामग्रीहरू सार्वजनिक भइरहेका छन् । तर, यो केवल एक राजनीतिक अफवाहमात्र भएको दाबी गर्दै नेपाली कांग्रेस नेतृत्वले यसको कडा प्रतिवाद गरेको छ ।
सभापति शेरबहादुर देउवाले यस्तो हल्लाको विरोध गर्दै उहाँले भन्नुभएको छ– ‘हामी २०६३ को जनआन्दोलनको जगमा स्थापित गणतन्त्रको रक्षक हौं, कुनै हालतमा राजतन्त्र पुनःस्थापनाको कुरा न कांग्रेसले समर्थन गर्छ, न हामी त्यो सम्भावनाबारे सोचिरहेका छौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले पछिल्लो समय केही पूर्वपञ्चहरू र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको सक्रियतामा गणतन्त्र प्रणालीमाथि अविश्वास फैलाउने सुनियोजित प्रयास भइरहेको र यसको कडा प्रतिवाद गर्ने बताउनुभएको छ । ‘राजतन्त्र फर्काउने सपना देखाउनेहरूले अहिले केही सञ्चारमाध्यमलाई आफ्नो औजार बनाएका छन्’, उहाँले भन्नुभयो– ‘तर कांग्रेसले गणतन्त्रका उपलब्धिहरू जोगाउन जुनसुकै हदसम्म संघर्ष गर्छ ।
कांग्रेसभित्र बहस छैन, सीधा प्रतिवाद
केही सञ्चारमाध्यमहरूले ‘कांग्रेसभित्र हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रबारे बहस चलिरहेको’ भन्दै समाचार सम्प्रेषण गरे पनि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले त्यसको खण्डन गर्नुभएको छ । उहाँका अनुसार पार्टीभित्र यस्तो कुनै एजेन्डा छैन, न कुनै कार्यसमिति वा विधानअनुसार यस्ता विषयमा बहस भइरहेको छ । यो विशुद्ध अफवाह हो, जुन कांग्रेसलाई कमजोर पार्न फैलाइएको हल्ला हो ।
उहाँका अनुसार, कांग्रेसको मूल आदर्श धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र हो र यसलाई पार्टीले कहिल्यै कमजोर बनाउँदैन । ‘२००७ सालदेखि आजसम्मका सबै प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस अग्रपंक्तिमा रहँदै आएको छ । आज गणतन्त्रप्रति अनास्था फैलाउने काम भइरहेका बेला कांग्रेस त्यसको प्रतिरोधमा उभिन्छ’ मुख्यसचिव पौडेलले बताउनुभएको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति नै निकालेर देशका उपलब्धिहरूविरुद्ध घृणित प्रचारप्रसार भइरहेको छ । कांग्रेस यसको प्रतिवादमा संगठित रूपमा लाग्नेछ । लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने दाबी गरेको छ ।
सत्तारुढ गठबन्धनलाई कमजोर पार्ने रणनीति
पछिल्ला दिनमा सरकार परिवर्तनको सम्भाव्यता टुंगिएपछि केही राजनीतिक समूहहरूले ‘गणतन्त्र असफल भयो’ भन्ने सन्देश दिन खोजिरहेका छन् । जनतामा विकासका अपेक्षा पूरा नहुँदा देखिएको असन्तोषलाई प्रयोग गरी गणतन्त्र असफल भयो, अब राजतन्त्र फर्काउनुपर्छ भन्ने धारणा निर्माण गर्ने प्रयास भइरहेको छ ।
राजनीतिक विश्लेषक डा. चूडामणि देवकोटाका अनुसार, पूर्वपञ्चहरू, केही दक्षिणपन्थी समूह र राजसंस्था समर्थकहरू अहिले वैचारिक पुनरुत्थानको खोजीमा छन् । तर, उनीहरूले जनताको चेतनास्तरको मूल्यांकन नगरी हतारमा अभियान चलाएका छन्, जुन दीर्घकालीन रूपमा असफल हुने सम्भावना धेरै छ ।
विगतमा जस्तै आज पनि लोकतन्त्र र गणतन्त्रको संरक्षण कांग्रेसको प्रमुख दायित्व हो भन्ने सन्देश दिन खोजिएको यो क्षणमा, यस्ता अफवाहहरू केवल जनमत भडकाउने प्रयासका रूपमा हेर्नुपर्ने मुख्य सचिव पौडेल बताउनुहुन्छ । कांग्रेसले स्पष्ट रूपमा भनेको छ– संविधानको मर्ममाथि हमला भए कांग्रेस त्यसको प्रतिरोधमा डटेर उभिन्छ ।’
आन्दोलनका बारेमा पूर्वराजाको चासो
राजावादी नेतासँग ‘लन्च मिटिङ’
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार काठमाडौंको सोल्टी होटलमा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग भेटेर आगामी १५ जेठमा हुने भनिएको आन्दोलनको बारेमा चासो राख्नुभएको छ ।
स्रोतका अनुसार पूर्वराजाले ती चार जनासँग झन्डै १ घण्टा लन्च मिटिङ गर्नुभएको थियो । पूर्वराजा र नेताहरुबीच आन्दोलनका बारेमा केही कुराकानी भए पनि अन्य थप कुराकानीका बारेमा भने जानकारी बाहिर आएको छैन । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ घोषणा गरेको छ ।
राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायत एजेन्डामा उनीहरूले आन्दोलन गर्न लागेका हुन् । यसै सन्दर्भमा पूर्वराजाले राजावादी नेताहरुलाई भेटेका हुन् । यसअघि पूर्वराजा शाहले १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो भने वैशाख ५ गते राप्रपाका ७ जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गर्नुभएको स्रोतले जानकारी दिएको छ ।











प्रतिक्रिया