प्रक्रिया शुरू नहुँदै शक्ति केन्द्र धाउन शुरू

11.37k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा खड्ग केसीले तीनमहिने उपकुलपतिको जिम्मेवारी पाएको १ महिना ८ दिनपछि नयाँ उपकुलपति छनौट गर्न ‘सर्च कमिटी’ गठन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले काम शुरू गर्न नपाउँदै उपकुलपति हुनेको लर्को लागेको छ ।

उपकुलपति हुन इच्छा जाहेर गरेका अधिकांश प्राध्यापकले आफू निकटका नेतासँग चाकडी शुरू गरेका छन् । चाकडी गर्ने र नेता भेट गर्नेमा सबैभन्दा पहिलो तीन महिने उपकुलपति प्राडा केसी हुनुहन्छ । यसअघि योग्यताको आधारबाट नियुक्त भएका माओवादी निकट प्राडा केशरजंग बरालले चैत १५ गते कर्मचारीमार्फत सुटुक्क राजीनामा दिनुभएपछि रेक्टर प्राडा केसी उपकुलपति हुनुभएको हो ।

उच्च स्रोतका अनुसार पूर्वराष्ट्रपति विद्याभण्डारीको निकट मानिने प्राडा केसी उहाँकै जोडबलमा तीनमहिने उपकुलपति हुनुभएको हो । फेरि उहाँ नै उपकुलपतिको दौडमा अग्रपंतिmमा रहेको त्रिवि स्रोतले बतायो । उहासँगै एमाले निकट त्रिविको पूर्वरजिस्टार, पूर्वडीन, विभागीय, संकाय प्रमुख शिक्षक उपकुलपतिको दौडमा छन् ।

कुलपति एवं प्रधानमन्त्री केपी ओलीले प्राडा बरालको राजीनामा आएलगत्तै सर्च कमिटी गठन गरी उपकुलपति नियुक्ति गर्ने तयारी गर्नुभएको थियो । तर, समय अभावका साथै त्रिवि आर्थिक र प्रशासनिक रूपमा ठप्प हुन थालेपछि बाध्य भएर रेक्टर केसीलाई उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।

तीन दिनअघि कुलपति ओलीले शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारी पौडेल र शिक्षा सचिव दीपक काफ्ले सदस्य रहेको सर्च कमिटी गठन गर्नुभएको थियो । कमिटिले सूचना निकालेर नाम माग्ने तयारी नगर्दै घोषणा गर्नेको लर्को लागिसकेको छ ।

स्रोतका अनुसार यो पटक विगतजस्तो योग्यताको आधारमा उपकुलपति छनौट गर्ने भन्दा पनि हालै भएको गभर्नर छनौट प्रक्रिया जस्तैगरी समितिले एकैपटक तीनजनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । यसपटक उपकुलपतिको भीडन्तमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी पूर्वडीन डा. दिव्यासिंह शाहको नाम चर्चामा रहेको छ । उहाँपछि हालका उपकुलपति प्राडा खड्ग केसी, पूर्वरजिस्ट्रार प्राडा डिल्ली उप्रेती, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का पुर्वउपाध्यक्ष प्राडा उपेन्द्र कोइराला र पूर्व डीन डिल्लीराज शर्मा हुनुहन्छ ।

त्यस्तै, उपकुलपतिको दौडमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारी, रसायनशास्त्रका पूर्व विभागीय प्रमुख प्राडा मोतीलाल शर्मा, त्रिवि मौसम विज्ञान विभागका प्रमुख प्राडा दीपक अर्याल, पूर्व प्राचार्य ध्यानेन्द्र राई र जनसंख्या केन्द्रीय विभागका प्रमुख योगेन्द्र गुरुङ रहनुभएको छ । उहाँहरू सबैले उपकुलपतिको दौडमा शक्तिकेन्द्र धाउन शुरू गर्नुभएको छ ।

उपकुलपति एमालेको हातमा परेपछि रेक्टर केसीलाई दिने कि अर्को खोजी गर्ने ? भन्ने विषयमा निर्णय भइसकेको छैन । रजिस्टारमा भने हालका रजिस्टार रिजालकै सम्भावना रहेको छ ।

को- को छन् त प्रतिस्पर्धामा ?
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी पूर्वडीन डा. दिव्यासिंह शाह, हालका उपकुलपति प्राडा खड्ग केसी, पूर्वरजिस्टार प्राडा डिल्ली उप्रेती, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का पूर्वउपाध्यक्ष प्राडा उपेन्द्र कोइराला र पूर्व डीन डिल्लीराज शर्मा, त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारी, रसायनशास्त्रका पूर्व विभागीय प्रमुख प्राडा मोतीलाल शर्मा, त्रिवि मौसम विज्ञान विभागका प्रमुख प्राडा दीपक अर्याल, पूर्व प्राचार्य ध्यानेन्द्र राई, जनसंख्या केन्द्रीय विभागका प्रमुख योगेन्द्र गुरुङ रहनुभएकाे छ ।