आउटफिल्डमा म्याट राखेर प्रतियोगिता

470
Shares

पोखरा ।

मंगलबारदेखि शुरु भएको यू १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता पीचभन्दा बाहिर म्याट राखेर खेलाउनु पर्ने बाध्यता सृजना भएको छ । नियमित पानीले क्रिकेट मैदानको पीच ओसिलो हुदाँ पीच भन्दाबाहिर म्याट राखेर खेलाउनुपरेको हो ।

क्रिकेट मैदानमा ६ वटा पीच छन् । पीच छोप्ने प्लाष्टिकको कभर छ । तर कभर पर्याप्त नहुदाँ पानी पर्दा क्रिकेट पीच ओसिलो हुदाँ बुधबार तनहुँ र बाग्लुङ बीचको खेल पीचभन्दा बाहिर आउटफिल्डमा म्याट ओछ्याएर खेलाईयो । ‘पीच कभर छ । तर पर्याप्त छैन् । पीच कभर भन्दा केही पर बलर दौडिने ठाँउ हिलाम्मे छ । बलरलाई बलिङमा समस्या हुने भएपछि खेललाई आउटफिल्डमा म्याट राखेर खेलाउनुको विकल्प रहेन ।’ पोखरा क्रिकेट मैदानका पीच क्युरेटर प्रदीप राउतले बताए ।
राउतले पीचसहित ३० यार्डसम्म छोप्ने कभर आवश्यक भएको बताए ।

पानी पर्दा आउटफिल्डमा समस्या हुदैन् । पानी जम्ने समस्या छैन् । तर स्टम्प वरिपरी पानीले भिज्दा चिप्लो र ओसिलो हुदाँ बलरलाई समस्या हुने गरेको छ । पोखरा क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको भन्दै चर्चा गरिन्छ । पोखरालाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सामान्य पूर्वाधारले पनि ठूलै अर्थ राख्ने गरेको छ । त्यसो त आउटफिल्ड पनि त्यति राम्रो छैन । दबेको र उठेको भागले खेलाडीहरुलाई दुर्घटना निम्त्याउने गरेको छ । क्रिकेटरको खुट्टा भाँचिएको इतिहास छ । पीच र मैदान बनाउने तर्फ कास्की जिल्ला क्रिकेट संघले खासै ध्यान दिएको देखिँदैन ।

गण्डकी प्रदेशको एकमात्र क्रिकेट मैदानको मर्मत सम्भार स्थानीय, प्रदेश र संघीय सरकारले हेरेनन् । प्रतियोगिताको लागि मात्रै पोखराको मैदान माग्न आउँछन् तर क्रिकेट मैदान मर्मत सम्भारको लागि कसैले चासो नदिएको नेपाल क्रिकेट संघका पूर्व सदस्य ऋषिराम गौतमले बताए । ‘मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छ तर तीन तहको सरकारबाट सहयोग भने कत्तिपनि पाईएन ।’ गौतमले बताए ।

प्रदेश सरकारले बैकल्पिक क्रिकेट मैदानको लागि आवश्यक अध्ययन गर्दै आएको छ । शुक्ला गण्डकीमा आवश्यक ठाँउ हेरेर फर्कियो । तर जग्गा विवाद देखिएपछि काम अगाडि बढेन । बैकल्पिक मैदानको लागि अघिल्लो वर्ष ४० लाख रुपैयाँ छुट्टाईको थियो । यो वर्षपनि ४० लाख रुपैयाँ बजेट थियो । जग्गा विवादकै कारण नहुने भएपछि त्यो ४० लाख रुपैयाँ पोखरा रंगशाला क्रिकेट मैदानमा मर्मत सम्भारको लागि खर्च गर्न माग गरेपनि सुनुवाई भएन ।

‘तीन तहको सरकार छ । सन् २०२७ मा उमेर समूहको विश्वकप नेपालमा हुदैंछ । त्यसको लागि पोखरा क्रिकेट मैदान पनि सम्भावित आयोजनास्थल हुन सक्ने ध्यानमा राखेर मैदान बनाउने आवश्यक सहयोग भने सरकारबाट भएको छैन ।’ गौतमले दुखेसो पोखे । उनका अनुसार वर्षमा नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ मर्मत सम्भारको रुपमा दिने भएपनि त्यो अपुग छ ।