प
सुर्तीजन्य पदार्थ नियन्त्रणमा नीति, नियम र कानुनमा नेपालले उत्कृष्ट योगदान पु¥याएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पुरस्कृत गरेको छ । यति ठूलो सम्मान नेपालले पाउनु देशकै लागि गौरवको विषय हो । गरे के हुन्न ? भन्ने कुरा नेपालले प्रस्तुत गरेर देखाएको छ ।
यस्ता गौरवमय कार्य गरेर देशलाई चिनाउन लागिपर्ने व्यक्ति, संघसंस्था एवं राज्यको लगनशीलताले निरन्तरता पाइरहोस् । आफँैले बनाएको कानुनको पालना गर्ने र कार्यान्वयन गर्ने क्षेत्रमा पनि अनुगमन, मूल्यांकन र पुरस्कारको व्यवस्थासहित नेपाल सरकारले नयाँ कार्ययोजना बनाओस् । सुर्तीजन्य पदार्थको प्याकेटको शत प्रतिशत भाग घातक चित्र र चेतावनीमूलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो । यसरी सुर्तीजन्य पदार्थको बट्टा, ¥यापरको शत प्रतिशत भागमा घातक चित्रसहित चेतावनीमूलक सन्देश राख्ने नेपाल पहिलो मुलुक हो ।
विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएको सुर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा नेपालले देखाएको तदारुकताका लागि विगतमा पनि यसरी नै सम्मान तथा पुरस्कृत गरेको थियो । यो सम्मानले नेपाल सरकारको जनस्वास्थ्य सुरक्षाप्रति अझै ध्यान पुगोस् । सबै नेपालीको चाहना पनि यही हो । सुर्तीजन्य पदार्थमा कर बढाएर भए पनि आम नागरिकको जीवनमा सुर्तीजन्य पदार्थको प्रवेश नै नहुने गरी जनचेतना फैलाउनेतर्फ तीनै तहका सरकारको ध्यान पुगोस् ।
सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यलाई निकै हानि पु¥याउने गर्छ । बर्सेनि नेपालमा ३७ हजार नेपालीको सुर्तीजन्य पदार्थ सेवनकै कारण मृत्यु हुने गरेको छ । सुर्तीसेवनका कारण उत्पन्न स्वास्थ्य समस्याको उपचारका लागि देशको ठूलो धनराशि खर्च हुने गरेको छ । धन खर्च गरेर पनि उपचार हुन नसकी ज्यान गुमाउनेहरु धेरै छन् । त्यसैले सुर्ती नियन्त्रणका विषयमा जनचेतना जगाउनका लागि स्थानीय सरकारको भूमिका अति जरुरी छ ।
कलिलो दिमागमा नयाँ चिजको आकर्षण हुनु स्वाभाविक नै हो तर यसो भन्दैमा जनस्वास्थ्यमा नै असर पर्ने र मानिसको ज्यान नै लिने विषयमा मुलुकको तीनवटै सरकार मौन बस्नुहुँदैन । यति बेला हरेक घरको निगरानी राख्न र हरेक व्यक्तिलाई सही मार्गमा हिँडाउनका लागि युवा पुस्तामा जनचेतना जगाउनु आवश्यक छ । यसका लागि हरेक विद्यालयमा ५ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पु¥याउने असरका बारेमा नियमित शिक्षा दिनु जरुरी छ ।
विद्यालय स्तरमै यसरी ज्ञान दिन सकेको खण्डमा नयाँ पुस्ता सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवनको कुलतबाट जोगिनेछन् र अभिभावकलाई पनि सही सन्देश दिई सुर्ती सेवन नियन्त्रणमा पहल गर्नेछन् । यस्ता विषयमा शिक्षक, अभिभावक, स्थानीय सरकार चनाखो हुनै पर्छ । निर्देशिकामा सुर्तीजन्य पदार्थ, मादक पदार्थ विद्यालयको आसपासमा बेचबिखन गर्न नपाइने भनिए पनि विद्यालयको आडैमा यस्ता वस्तु खुलेआम बिक्री भइरहेको देखिन्छ । यसमा समेत रोक लगाउनेतर्फ सरकारको ध्यान पुगोस् । आशा गरौँ, यस विषयमा नेपालले अग्रणी स्थान हासिल गरी नै रहनेछ ।











प्रतिक्रिया