इलाममा मनाइयो फिल्म पत्रकारिता दिवस

समाचारपत्रकी थापासहित ७ पत्रकार सम्मानित र पुरस्कृत

3.76k
Shares


इलाम ।

चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६औँ वार्षिकोत्सव तथा २३औँ फिल्म पत्रकारिता दिवस इलामको श्रीअन्तुमा भव्यताका साथ मनाइएको छ।

सो अवसरमा आयोजित सम्मान तथा पुरस्कार प्रदान समारोहमा नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापालाई राष्ट्रिय फिल्म पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ। संघका केन्द्रीय अध्यक्ष समिर बलामीको सभापतित्व तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा थापालाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गरिएको हो।

अभिनेता शिव श्रेष्ठ, अभिनेत्रीद्वय गौरी मल्ल र वसुन्धरा भुषाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय विदुर गिरी र शान्तिप्रिय, निवर्तमान अध्यक्ष दिनेश सिटौलालगायतको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा थापासहित ७ जना फिल्म पत्रकारलाई विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत गरिएको छ।

जसअन्तर्गत पत्रकार ध्रुव लम्साललाई नगद ५५ हजार रुपियाँसहित राष्ट्रिय फिल्म पत्रकारिता रजत सम्मान २०८२, विष्णु सुवेदीलाई राष्ट्रिय फिल्म पत्रकारिता सम्मान–२०८२, नरेन्द्र बस्नेत (कोशी) लाई राष्ट्रिय फिल्म पत्रकारिता सम्मान–२०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई नगद ५१ हजार रुपियाँसहित राष्ट्रिय फिल्म पत्रकारिता पुरस्कार–२०८२ र तुलसीप्रसाद निरौला (कोशी) लाई नगद २५ हजार रुपियाँसहित राष्ट्रिय मोफसल फिल्म पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ। पत्रकारहरूलाई प्रमुख अतिथि र विशेष अतिथिहरूबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

फिल्म पत्रकारिता दिवस २०८२ का अवसरमै विभिन्न २ विषयमा अन्तक्र्रिया कार्यक्रम पनि गरिएको छ। सो अवसरमा फिल्म र फिल्म पत्रकारिता विषयमा अन्तक्र्रिया गरिएको थियो। पत्रकार विष्णु सुवेदीले सहजीकरण गरेको अन्तक्र्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले पत्रकार र कलाकार दुबैले आचार संहिताभित्र रहेर अघि बढ्नुपर्नेमा जोड दिए। त्यस्तै वसुन्धरा भुषालले कलाकार र पत्रकार एउटै परिवार भएको जनाउँदै दुबै सही ढंगबाट अघि बढ्नुपर्ने सुझाइन्।

अर्की अभिनेत्री गौरी मल्लले पत्रकारिताको क्षेत्रबाट कलाकारले ज्यान गुमाउन परेका घटना पनि भएको स्मरण गराउँदै खबरदारीका नाममा चरित्र र व्यक्तिगत जीवनमा जान नहुने धारणा व्यक्त गरिन्। पत्रकार शान्तिप्रियले पत्रकारले सबैभन्दा पत्रकारिताको नाममा विज्ञापनकारिता गर्न नहुने बताए। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले पत्रकारिता क्षेत्रले सिनेमा क्षेत्रको गल्ति र कमीकमजोरी औँल्याएर खबरदारी गरिहनुपर्ने बताए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकारहरूले मिडियामा कतिसम्म बोल्ने भन्ने विषयमा सचेत हुनुपर्ने चर्चा गरे। उनले सचेतनाका लागि संघले विभिन्न कार्यक्रम गरे पनि सेलिब्रेटी भनिएका कलाकारहरू सामेल नहुनु विडम्बना भएको बताए। सोही अवसरमा पत्रकारहरूबीच मिडिया मन्थन समेत गरिएको थियो। संघका अध्यक्ष समिर बलामीले सहजीकरण गरेको मिडिया मन्थनमा संघका पूर्व अध्यक्ष विदुर गिरीले विगतमा फिल्म पत्रकारितालाई मूल पत्रकारिता नमान्ने अवस्था रहेपनि अहिले स्थापित विधा भएको चर्चा गरे।

नेपाल पत्रकार महासंघका पूर्व सचिव ध्रुव लम्सालले नेपाल पत्रकार महासंघले सीमित स्रोत र साधनका कारण चाहेर पनि विधागत पत्रकारिताका लागि काम गर्न नसकेको बताए। मिडिया मन्थनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टरका अध्यक्ष कमल गिरी विधागत पत्रकारिताका विविध विषयमा चर्चा गरेका थिए।

संघले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ श्रीअन्तुमा दोस्रो राष्ट्रिय भेला पनि आयोजना गर्दैछ। फिल्म पत्रकारिता दिवसका अवसरमा संघले आज बिहीबारसम्म विविध कार्यक्रम गर्दैछ। कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको संयोजन एवं चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा भइरहेको छ।