ए डिभिजनमा बढुवा हुने दुबै टोली नयाँ

5.08k
Shares

काठमाडौं ।

जारी सहिद स्मारक बी डिभिजन लिगबाट नयाँ टोलीहरू प्लानिङ ब्वाइज यूनाइटेड र श्रीभगवती क्लब ए डिभिजनमा बढुवा भएका छन् ।

मंगलबार श्रीभगवतीले ए डिभिजनको स्वाद चाखिसकेको टोली ब्वाइज युनियनलाई हराएसँगैं नयाँ टोलीको ए डिभिजन लिगमा प्रवेश भएको हो । यसअघि प्लानिङ ब्वाइज यूनाइटेड ए डिभिजनमा पुगिसकेको थियो । साथै प्लानिङ ब्वाइज यस सिजनको बी डिभिजन लिग च्याम्पियनसमेत हो ।

नयाँ टोलीको बढुवाले यसपटक पनि ए डिभिजनमा खेलिसकेका टोलीहरू हिस्स भए । पछिल्लो सिजनमा पनि ए डिभिजनमा खेलिसकेका टोलीहरू नयाँ टोलीहरूसँग कमजोर बनेका थिए । पछिल्लो सिजनमा ललितपुरका दुई टोली चर्च ब्वाइज यूनाइटेड र च्यासल युवा क्लब ए डिभिजनमा बढुवा भएका थिए । डेब्यु गरेकै सिजनमा चर्च ब्वाइज यूनाइटेड ए डिभिजन लिग च्याम्पियन बन्यो । च्यासल क्लबले पनि ए डिभिजनको स्वाद पहिलो पटक लियो । तर, कमजोर खेलको कारण डेब्यु गरेकै सिजनमा च्यासल बी डिभिजनमा झर्न पुगेको थयो ।

प्लानिङ र श्रीभगवती हारेका छैनन्

प्लानिङ ब्वाइज र श्रीभगवतीले शुरुदेखि नै ए डिभिजनमा खेलिसकेका टोलीहरूले भन्दा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढेका हुन् । जहाँ ए डिभिजन क्लबहरू संघर्ष गरिरहँदा यी दुई टोलीले सहज जित निकालिरहे । यी दुबै टोलीले १२ औं चरणसम्म एक खेल पनि हारेका छैनन् । १३ औै अन्तिम चरण भने बाँकी छ ।

जित्ने होडमा समेत प्लानिङ ब्वाइज सबैभन्दा अगाडि रह्यो । प्लानिङ ब्वाइजले जारी लिगमा १२ खेल खेल्दै ९ खेलमा जित हासिल गरेको छ । यदि अन्तिम खेल पनि जितेमा जारी लिगमा दोहोरो अंकमा जित हासिल गर्ने एक मात्र टोली हुनेछ । श्रीभगवतीले १२ खेल खेल्दा ७ खेलमा जित हासिल गरेको छ । सरस्वती युवा क्लब, आरसीटी, ब्वाइज युनियन, मध्यपुर युथ एसोसिएसन, ब्रिगेड ब्वाइज क्लब, बाँसबारी क्लब र च्यासल युवा क्लब ए डिभिजन खेलिसकेका टोलीहरू हुन् । यसमा ब्वाइज युनियनबाहेक बाँकी टोलीहरुले बी डिभिजनमै रहन संघर्ष गर्नुपरेको थियो ।

ब्वाइज युनियनको ए डिभिजनमा उक्लिने संभावना थियो । हिजोको खेलमा जितेको भए ब्वाइजको संभावना जीवित रहने थियो । ब्वाइज युनियन २०७१ सालमा बी डिभिजनमा झरेदेखि अहिलेसम्म बी डिभिजनमै रहेको छ ।

आरसीटी जोगिँदा टुसाल सी डिभिजनमा

मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसीटीले वीरगञ्ज यूनाइटेडसँग १–१ बराबरी खेलेपछि टुसाल सी डिभिजनमा झरेको हो । यो बराबरीले आरसीटीको १५ अंक भयो र सी डिभिजनमा झर्नबाट जोगियो । तर, ११ अंक लिएर आरसीटीको हार कुरेको टुसाल भने बराबरी नतिजाबाट निरास हुनुप¥यो । टोलीको लागि अन्तिम खेल जितेपनि बी डिभिजनमै रहने पर्याप्त भएन ।

यसैले आरसीटीले एक अंक जोड्दा टुसालको लागि आगामी सिजन सी डिभिजन लिग खेल्नु पर्ने बनायो ।
लिगबाट दुई टोली माथिल्लो डिभिजनमा बढुवा हुने र दुई टोली नै तल्लो डिभिजनमा घटुवा हुने प्रावधान रहेको छ । पछिल्लो ए डिभिजन लिगबाट च्यासल युवा क्लब र नेपाल एपीएफ क्लब बी डिभिजनमा झरेका थिए ।