प्रहरी प्रमुख पाण्डेलाई ७ दिने स्पष्टीकरण

17.77k
Shares

–चित्त नबुझे थप कारबाही
–यसबारे केही बोल्दिनँ: प्रमुख पाण्डे

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । हाजिर भएको करिब ५ सातापछि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोध्नुभएको हो ।

स्पष्टीकरण सोध्ने कि नसोध्ने भन्ने विषयमा प्रमुख गुरागाईंले विभिन्न तहमा कुराकानी गर्नुभएको थियो । उच्चस्रोतका अनुसार उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेस र एमालेका वडाध्यक्ष, विभागीय प्रमुखलगायत अधिकांश उच्चतहका कर्मचारीको रायपछि स्पष्टीकरण सोधिएको हो । गुरागाईंले सोमबार पत्र लेखी गत चैत २१ गते आफूलाई कार्यालयमा हाजिर हुन जाँदा रोक्ने काम गरेको आरोप पाण्डेमाथि लगाउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतमाथि भएको दुव्र्यवहारको सर्वत्र विरोध भइरहँदा पाण्डेलाई स्पष्टीकरण सोधेको थिएन ।

उपमेयर र कार्यपालिकाका अधिकांश सदस्यले प्रहरी प्रमुख पाण्डेको पछिल्लो गतिविधिबारे सूक्ष्म अनुसन्धान गरेपछि कारबाही गर्न सुझाएका थिए । स्रोतका अनुसार प्रहरी प्रमुख पाण्डे प्रमुख प्रशासकीय अधिकृतप्रति भन्दा पनि मेयर बालेन्द्र साहप्रति उत्तरदायी हुने, अधिकांश विभागको काम आफ्नै मातहतमा ल्याएर सम्पादन गर्ने, विभागीय प्रमुखमाथि अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलाप बढेपछि प्रमुख प्रशासकीय अधिकृतमाथि पाण्डेलाई कारबाही गर्न दबाब बढेको एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

‘कामपा प्रहरी ऐन, २०५० को दफा ५ बमोजिम जुन अधिकारीको रेखदेख, नियन्त्रण र निर्देशनमा रही परिचालित हुनुपर्ने तथा जसको आदेश र निर्देशन पालना गर्नु महानगर प्रहरीको कर्तव्य हुने कानुनी व्यवस्था रहेको छ, सोही अधिकारी बिदापछि कार्यालय प्रवेश गर्दा अवरोध सिर्जना गर्ने उद्देश्यले गैरकानुनी क्रियाकलाप कुन उद्देश्य पूर्ति हेतु किन गर्नुभएको हो ? तपार्इंलाई काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० बमोजिम किन कारबाही नगर्ने ? यस सम्बन्धमा पत्र बुझी लिएको मितिले सात दिनभित्र रितपूर्वक स्पष्टीकरण पेस गर्नुहुन महानगर प्रहरी ऐन २०५० को दफा ३९ को उपदफा ३ बमोजिम सूचित गर्दछु’ –स्पष्टीकरण पत्रमा उल्लेख छ ।

म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्त बुझ्दो नभएमा कानुनबमोजिम कारबाही हुने समेत उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा प्रवेश गर्न सहयोग गर्दा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पठाएको हो ।

सोमबार पत्र तयार भएको थियो, मंगलवार कार्यालय खुल्नासाथ प्रहरी प्रमुख पाण्डेको हातमा थम्याइएको थियो । पत्र सोमबार दर्ता भएको थियो । पत्र पाएलगत्तै प्रहरी प्रमुख पाण्डे मेयरका स्वकीय सचिव भूपदेव साहसँग सल्लाह गर्न पुग्नुभएको थियो । ‘दिनभर सल्लाह लिएर फर्कनुभयो, अब उहाँले के स्पष्टीकरण दिनुहुन्छ कुर्नेछाैं’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।
पाण्डेलाई सोधिएको स्पष्टीकरणपत्रको बुँदा नं १ मा चैत २१ गतेका दिन लामो बिदापछि म काठमाडौं कामपा कार्यालय प्रमुखका रूपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा आउँदा तपाईंले आफू मातहतको महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैरकानुनी हर्कत गरेको अवस्था रहेको उल्लेख छ ।

प्रपअको रूपमा मैले प्रयोग गर्दै आएको सवारीसाधन ह्विल लक गर्ने आदेश दिई, ह्विल लक गर्न लगाई कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको भन्ने जानकारी सम्बन्धित कर्मचारीबाट प्राप्त हुन आएको तथा उक्त दिन म अन्य विकल्प प्रयोग गरी कार्यालय आउनु परेको स्पष्टीकरण नम्बर २ मा छ । प्रप्रअ हाजिर हुन आउँदा महानगर प्रहरी बलमा कार्यरत प्रहरीहरूलाई कामपाको प्रवेशद्वार तथा कार्यालय परिसरभित्रका विभिन्न स्थानमा भेला गराई प्रहरीको साङ्गलो बनाई बाधा अवरोध गरेको र हुलहुज्जत गरी कार्यालयको कार्य वातावरणमा आतंक सिर्जना गर्दै कार्यालय प्रवेश गर्न अवरोध खडा गरेको विषय ३ नम्बर बुँदामा उल्लेख छ ।

स्पष्टीकरणमा महानगर प्रहरी बलका प्रमुख पाण्डे कामपाका कर्मचारी भएको र कानुनतः प्रमुख प्रशासकीय अधिकृतको निर्देशन मान्नुपर्नेमा निजले कर्मचारीका रूपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरी अनुशासनहीन कार्य गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ । सञ्चार माध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुख र अन्य जनप्रतिनिधिहरूसँग मुखमुखै लागी अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई थप द्वन्द्व निम्त्याउने प्रयास गरेको विषय स्पष्टीकरणमा सोधिएको छ ।
पत्र पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कामपा प्रमुख पाण्डेले भन्नुभयो– ‘पत्र पाएको छु, म यस विषयमा केही बोल्दिनँ ।’