मुक्तिनाथ विकास बैंकद्वारा अन्तरबैंक टेलर क्यूआर सेवा सुरु, डिजिटल भुक्तानीमा सहजता


काठमाडौँ
मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न अन्तर बैंक टेलर क्यूआर सेवा सुरु गरेको छ ।

यस सेवाअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर कोड स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् ।

यस सेवाको सुरुआतबाट ग्राहकहरूले परम्परागत रूपमा चेक तथा एटीएम प्रयोग गरेर रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सेवाको प्रारम्भिक चरणमा बैंकका मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयहरूबाट सुरुआत गरिएको छ। बैंकले निकट भविष्यमा यो सेवा देशभरका सबै शाखामा विस्तार गर्ने जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था समेत गरेको छ । हालै मात्र बैंकले ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ, जसबाट मोबाइलमार्फत विभिन्न सेवा लिन सकिनेछ।

यसका साथै, बैंकले अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । त्यसै गरी, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका अन्य सेवाहरू शाखामा उपस्थित नभइ घरमै बसेर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।