बलिउडकी लोकप्रिय अभिनेत्री श्रद्धा कपूर एकता कपूरको आगामी फिल्मबाट बाहिरिएको खबरले अहिले चर्चा पाएको छ।
राही अनिल बर्वेले निर्देशन गर्न लागेको सो फिल्ममा श्रद्धाले करिब १७ करोड रुपियाँ पारिश्रमिक र नाफामा समेत हिस्साको माग गरेको र सो माग पूरा नहुने भएपछि उनले फिल्म छोडेको भन्ने खबर भारतीय सञ्चार माध्यमले छापेका छन्।
फिल्म स्त्री २ को सफलतापछि श्रद्धाका फ्यानहरू उनको नयाँ प्रोजेक्टको प्रतीक्षामा थिए। केही समयअघि मात्र यो विशेष फिल्ममा श्रद्धा मुख्य भूमिकामा देखिन सक्ने चर्चा चलेको थियो।
एकता कपूरले निर्माण गर्दै गरेको यो प्रोजेक्टबाट अब भने श्रद्धा अलग भएकी छिन्। पिपिङमुनको रिपोर्टअनुसार श्रद्धाले अत्यधिक पारिश्रमिक माग गरेकी थिइन्। एकता कपूरले महिलाको मुख्य भूमिका भए पनि त्यस्तो ठूलो रकम दिन सम्भव नभएको बताएको भनिएको छ।
श्रद्धाले मागेको रकमले फिल्मको समग्र बजेटमा असर पार्ने भएकाले निर्माताहरूले वैकल्पिक अभिनेत्री खोज्ने निर्णय गरेको समाचारमा चर्चा गरिएको छ। श्रद्धाले फिल्म छोडेपछि निर्माण टिमले अर्की स्टार अभिनेत्रीका साथ कुरा गरिरहेको खबर पनि आएको छ।
पहिल्यैदेखि चर्चामा रहेकी एक अभिनेत्रीलाई मुख्य भूमिकाका लागि प्रस्ताव गरिने सम्भावना छ। यता श्रद्धाको हातमा भने अहिले स्त्री ३ छ, जुन सन् २०२७ को अगस्ट १३ मा रिलिज हुने तय गरिएको छ। स्त्री २ मा जस्तै यो श्रृंखलामा पनि श्रद्धासँगै राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जीले महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्।
स्त्री शृंखलाले बलिउडमा कमेडी र डरलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको थियो।











प्रतिक्रिया