पत्रकार र कलाकार सम्मानित


हेटौंडा ।

चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले आगामी मंगलबार मनाइने फिल्म पत्रकारिता दिवसको अवसरमा शनिबार हेटौंडामा कार्यक्रम आयोजना गरी फिल्म पत्रकार र रंगकर्मीलाई पुरस्कृत गरेको छ।

कार्यक्रममा तीन दशकदेखि पत्रकारितामा सक्रिय फिल्म पत्रकार अनन्त वाग्लेलाई नगद ११ हजार १ सय ११ रुपिया“सहित नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरियो। त्यसै गरी फिल्म मकवानपुरमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय फिल्मकर्मीलाई प्रदान गरिने धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट कलरिस्ट रेनिस फागोलाई सम्मानित गरिएको छ।

कार्यक्रममा मकवानपुरमा रहेर पत्रकारितामा सक्रिय रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर गोकुल अधिकारीलाई फिल्म पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ।

त्यस्तै बोक्सीको घर नामक फिल्ममा पहिलोपटक अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार सुपला सापकोटालाई प्रशंसापत्रले सम्मान गरिएको छ। पत्रकार र फिल्मकर्मीलाई बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले सम्मान र पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रम शाखा अध्यक्ष कपिल खड्काको सभाध्यक्षता तथा चलचित्र पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष शान्तिप्रिय, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्वअध्यक्ष राममणि दाहाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईँ, कलाकार राज कटुवाल, रंगकर्मी भोलाराज सापकोटा, उज्ज्वल शर्मा भण्डारीलगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।