करुणा जन्माउने शाक्य र सम्पादकबीच संवाद

प्रधानमन्त्री ओली राष्ट्रलाई अत्याधिक माया गर्ने नेता : राधिका


काठमाडौँ।

चर्चित करुणा पुस्तककी लेखक तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओली राष्ट्रलाई सबैभन्दा बढी माया गर्ने नेताको रुपमा रहनुभएको बताएकी छन् । शाक्यले ओली र आफू श्रीमान् श्रीमतीको रुपमा रहेपनि कतिपय स्वभाव फरक फरक भएको तर देशलाई सर्वाधिक माया गर्ने विषयमा ओली र आफू बीच समानता रहेको प्रष्ट पारिन् । ‘उहाँ ओली सर र ममा केही विषयमा समानता र केही विषयमा असमानता रहेको भएपनि देशलाई सर्वाधिक माया गर्ने विषयमा भने समानता छ, उहाँले देशलाईै अत्याधिक माया गर्नुहुन्छ भने म पनि देशलाई अत्याधिक माया गर्ने व्यक्ति हुँ । ’शाक्यले भनिन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौमा आयोजना गरेको करुणा पुस्तकका लेखक राधिका शाक्य र विभिन्न सञ्चार माध्यमका सम्पादकहरुबीचको अन्तरसम्वाद कार्यक्रममा बोल्दै लेखक शाक्यले आफूले जीवनभोगाईमा व्यतीत गरेका राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई समेटेर करुणा पुस्तक सिर्जना गर्न सफल भएको उल्लेख गरिन् । उनले आफूलाई लागेको कुरा डकुमेण्टेशन गर्न पुस्तक लेखेको र पुस्तकले कतिपय सकारात्मक सोच भएकालाई प्रेरणा दिएको हुन सक्ने प्रष्ट पारिन् । शाक्यले आफूमा सानैदेखि पढ्ने र लेख्ने बानी रहेकाले पनि पुस्तक तयार गर्न सहज भएको बताइन् । ‘म नेपालकी छोरी हुँ , आफूलाई लागेका कुराहरु इमान्दारीतापुर्वक भन्न सक्छु , अहिले सम्म कसैलाई केही विगारेको छैन, कुनै इमान गुमाएको छैन, प्रधानमन्त्री ओली पनि इमान्दारीतापुर्वक राजनीतिमा लागिरहनुभएको छ ।’शाक्यले सम्पादकहरुसँग भनिन् । शाक्यले देश र जनतालाई राम्रो गर्न पर्छ भन्ने विषयमा ओली र आफूमा समानता रहेको दोहो¥याइ्न् ।

शाक्यले प्रधानमन्त्री ओली अथाह ज्ञानको भण्डार भएको र एक दुई पटक पढेको कुरा उनले सधै स्मरण गर्न सक्ने असाधारण स्मरण शक्तिको धनी व्यक्तित्व भएको बताइन् । कार्यक्रममा सम्पादकहरुले आफ्नो श्रीमान धेरै जसो शक्ति र सत्तामा रहेको भएपनि राधिकामा कुनै किसिमको घमण्ड र मपाइत्व नदेखिनुले उनी असल महिलाको रुपमा रुपान्तरण हुनुभएको भन्दै प्रसंसा गरेका थिए । राधिका स्वच्छ छवि भएकी इमान्दार महिला भएकाले उनको करुणा पुस्तकमा त्यस्ता विषयहरुको झल्को सहजै पाउन सकिन्छ । सम्पादकहरुले प्रधानमन्त्री ओलीलाई पत्नी राधिकामा मार्फत देश र जनताको हीतमा अझै परिणाम देखिने गरी खट्न, रातको समयमा स्वास्थ्यलाई ध्यानमा राखी आराम गर्न तथा मुलुकको विकास र समृद्धिमा परिणाम देखिने गरी काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा करुणा पुस्तकमाथि समालोचक डा देवी नेपाल र वरिष्ट पत्रकार बविता बस्नेतले टिप्पणी गरेका थिए । प्रेस चौतारी नेपालमा अध्यक्ष गणेश पाण्डेले राधिका शाक्यले करुणा जस्तो संवेदनशील र शसक्त कृति लेखेर समाजका लागि महत्वपुर्ण योगदान दिनुभएको र सो पुस्तक प्रेरणाको स्रोत भएको बताए ।

पाण्डेले ज्ञानको पुर्ननिर्माण र विमर्शको सुदृढीकरणमा यस्ता कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने भएकाले यस प्रकारका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रेस चौतारीका महासचिव हिरामान लामाले राधिका शाक्य करुणाकी खानी भएकाले उहाँले सो पुस्तक मार्फत समाजमा करुणा र दयाभाव फैलाउन कोसिस गर्नुभएको बताए ।