खान युनिस र वरपरका क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह


काठमाडौँ।

इजरायली सेनाले गाजा क्षेत्रमा स्थित खान युनिस, बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनी नागरिकहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ। सेनाको भनाइअनुसार ती क्षेत्र अब ‘युद्ध क्षेत्र’ घोषित गरिएका छन्।

इजरायल डिफेन्स फोर्सेस (IDF) का प्रवक्ता अवीचाई आड्राईले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेख्दै भने, “हामी ती क्षेत्रमा आतंकवादी सञ्जालमाथि कडा कारबाही गर्दैछौं। म तपाईंहरू सबैलाई मावा क्षेत्रतिर तत्काल सर्न आग्रह गर्दछु।”

IDF ले यो क्षेत्रमा ‘अभूतपूर्व सैन्य कारबाही’ सुरु गर्ने जानकारी दिएको छ। यसअघि इजरायली पक्षले गाजामा “ठूलो जमिन अपरेशन” थालेको बताएको थियो।

यता, इजरायली अधिकारीहरूले गाजामा मानविक संकट चर्किन नदिन केही मात्रामा खाद्यान्न आपूर्ति गर्न अनुमति दिने बताएका छन्। गाजा विगत १० हप्तादेखि कडा नाकाबन्दीको सामना गर्दै आएको छ, जसले खाद्यान्न संकट गहिरिँदै गएको छ। –बीबीसी