खोखोका राजन र करोतकी एरिका उत्कृष्ट घोषित


हेटौडा ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा खोखोका राजन बल र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आइतबार आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरुष खेलाडी र एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो । अवार्डसँगै दुबैले समान १ लाख नगद पुरस्कार प्राप्त गरे । मकवानपुरका राजन नेपालको राष्ट्रिय खोखो टोलीका सदस्य हुन् । नेपालले यसै वर्ष खोखो विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिकाले छोटो समयमा प्राप्त गरेको सफलताले गर्दा हरेक अवार्ड जित्न सफल भएकी छन् । उनले गत वर्ष २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिन् । एसियन कराते फेडरेसनद्वारा आयोजना हुने एसियाली प्रतियोगितामा नेपालले जितेको यो पहिलो पदक थियो ।

यसअघि १९औं एसियाली खेलकुदमा २५ वर्षको व्यक्तिगत रजतको खडेरीलाई तोडिन् । उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजतको ऐतिहासिक सफलता दिलाईन । यो सँगै उनी नेपाली करातेमा सर्वाधिक ठुलो पदक दिलाउने खेलाडी बनिन् ।