भिल्ला पार्कको बत्तीहरू उज्याला थिए, स्टेडियमका हरेक कुनामा उत्सवको रौनक छरिएको थियो । तर, एक ठाउँमा एउटा अनुहारमा विचित्रको भावना थियो । गर्व, माया, अनि विदाईको पीडा । त्यो अनुहार थियो एस्टोन भिल्लाबाट खेल्ने फिफा विश्वकप विजेता टोलीका चर्चित अर्जेन्टीनी गोलरक्षक इमिलियानो मार्टिनेजको ।
अर्जेन्टीनालाई वल्र्ड च्याम्पियनको ताज दिलाउन महत्वपूर्ण भूमिका खेलेका गोलकिपर मार्टिनेजले घरेलु मैदानमा सम्भवतः आफ्नो अन्तिम खेल खेलिरहेका थिए । प्रिमियर लिगको अन्तिम होम म्याचमा एस्टोन भिल्लाले टोटनह्यामलाई २–० गोलअन्तरले हरायो । स्टेडियममा खुसीको लहर थियो, तर मार्टिनेजको आँखामा भने आँसु थिए । खेलको अन्त्यतिर उनी जब मैदान छाड्दै थिए, स्ट्यान्डतर्फ फर्किए, ताली पिटे अनि आँसुसँगै भिल्ला पार्कलाई दुई हात जोडे ।
उनले केही बोलेनन् । तर, आँखाले धेरै कुरा बोले । त्यो मौन विदाइमा लुकेको थियो ४ सिजनको सम्झना, २ सय ११ खेलको पसिना अनि क्लबप्रतिको गहिरो माया । मार्टिनेज सन् २०२० मा आर्सेनल छाडेर एस्टोन भिल्लामा आउँदा धेरैले उनको निर्णयमाथि प्रश्न उठाएका थिए । तर, उनले आफ्नो खेलकुद यात्रालाई त्यस्तो मोडमा ल्याए, जसले उनलाई विश्वस्तरीय गोलकिपरको सूचीमा पु¥यायो । उनले भिल्लाको जर्सीमा न केवल उत्कृष्ट प्रदर्शन गरे, बरु टिमको आत्मा पनि बने । अब चर्चा सुरु भइसकेको छ अर्को गन्तव्य कता भनेर । साउदी अरबका क्लबहरूले ठूला प्रस्ताव अघि सारिसकेका छन् ।
उनलाई करोडौंको प्रस्ताव, सुविधासम्पन्न जीवन र एक नयाँ अध्याय सुरु गर्ने मौका छ । तर, मार्टिनेज जस्ता प्रतिस्पर्धात्मक आत्मासँग अझै युरोपमै उच्च स्तरमा खेल्ने लालसा बाँकी छ । उमेरले मात्र ३२ वर्ष पुगेका मार्टिनेज अझै केही वर्ष युरोपेली शीर्ष फुटबलमा चम्किन सक्छन् । उनका लागि युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना अझै अधुरो नै छ । धेरैलाई उनले आफ्नो अधुरो सपना पूरा गर्न के गर्लान भनेर कौतुहलता जागेको छ । मार्टिनेजले भने आफैंले अन्तिम निर्णय गर्न बाँकी छ । तर, शनिवारको रात ती आँशु, ती ताली र त्यो मौन विदाइले एस्टोन भिल्लाको जर्सीमा मार्टिनेजको आबद्धता अन्तिम मोडमा छ भनेर स्पष्ट पारेको छ । अब हेर्न बाँकी छ उनको अर्को अध्याय कहाँ खुल्छ । युरोपमा कि मरुभूमिको सुनौलो मैदानमा ।











प्रतिक्रिया