कलाकर्मीलाई हरितारा र परिवर्तन नेपाल पुरस्कार


परिवर्तन नेपालले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी दर्जन कलाकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।


सो अवसरमा २०८० का लागि ५ दशकदेखि कला क्षेत्रमा सक्रिय अभिनेता टीका पहारी र २०८१ का लागि साँढे दुई दशकदेखि अभिनयमा सक्रिय अभिनेत्री रेनिजा उप्रेतीलाई जनही २५ हजार रुपियाँसहित हरितारा फिल्म पुरस्कार २०८० बाट सम्मान गरियो। संरक्षक सदस्य मायन्का राणा सिरोहियाको सभापतित्वमा सम्पन्न समारोहमा यसै वर्षबाट स्थापित हरितारा फिल्म पत्रकारिता पुरस्कार १० हजार रुपियाँसहित विष्णु सेवेदीलाई प्रदान गरियो।

हरितारा पुरस्कार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू र आप्mना पति हरि शमशेरको नाममा अक्षयकोष खडा गरी स्थापना गरेकी थिइन्। कलाकार स्वस्थानी तामाङको स्वागत नृत्यबाट शुरू भएको कार्यक्रममा परिवर्तन नेपाल र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले आफ्नो माता पिता स्व. दुर्गादेवी निरौला एवम् पुण्यप्रसाद निरौलाको स्मृतिमा २०७३ सालमा स्थापना गरेको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार जनही १० हजार रुपिँयासहित २०८० का लागि निर्देशक सम्झना उप्रेती रौनियर र २०८१ का लागि कलाकार कृष्णप्रसाद ढुंगानालाई प्रदान गरियो। त्यस्तै परिवर्तन फिल्मकर्मी विशेष सम्मानबाट अभिनेता रविन्द्रसिंह बानियाँ, नाट्यकर्मी जेवि रुवाली, निर्देशक अमर वली, अभिनेता सविन श्रेष्ठ, हास्य कलाकार गोपाल ढकाल र कलाकार सुनिल कटुवाललाई प्रदान गरिएको समारोहमा परिवर्तन पत्रकारिता सम्मानबाट पत्रकार तुलसी गिरी भावुक, कृष्ण भुषाल र कमला कुमारी जोशीलाई प्रदान गरियो।


समारोहमा बोल्दै अध्यक्ष मोहन निरौलाले हरितारा फिल्म पुरस्कार निजी क्षेत्रबाट स्थापित फिल्मसम्बन्धी पहिलो पुरस्कार रहेको जनाउँदै कलाकर्मी र सञ्चारकर्मीको सम्मानमा विभिन्न परिस्थितिमा पनि सम्मान तथा पुरस्कारलार्ई निरन्तरता दिँदै आएको बताए। ‘हामीले सम्मानपूर्वक कलाकर्मीहरूलाई सम्मान गरिरहेको हुन्छौँ। तर पुरस्कार पाउनेले पाएको केही समयमै स्टेजबाटै सो सम्मानको रकम अरुलाई नै हस्तान्तरण गरिदिनुहुन्छ।

जसले गर्दा अलि नरमाइलो लाग्छ’ निरौलाले भने ‘रकम थोरै लाग्यो भने सम्मान नै लिन्न भन्न पाइन्छ, तर पाउनासाथ अरुलाई दिँदा पुरस्कारकै पनि सम्मान नगरेको जस्तो महसुस हुन्छ।’ प्रमुख अतिथि चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले केही दिनअघि उद्घोष भएको बनेपास्थित सिनेपा फिल्म स्टुडियोको विशेषताबारे प्रकाश पार्दै धुलिखेलमा समेत आउटडोर स्टुडियोको निर्माणको कुरा अघि बढिरहेको बताए।

सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्दै अभिनेता टीका पहारीले आफू जिल्लामा बस्ने भए पनि परिवर्तन नेपालले सम्मानको लागि बोलाएकोले काठमाडौं आएको बताए। ‘मलाई सम्झिएर सम्मान गर्नुभएकोमा परिवर्तन नेपाल र पुरस्कार निर्णायक समितिलाई धन्यवाद राम्रो काम गर्दै जाँदा एक दिन सम्मान र पुरस्कार पाइने रहेछ’ पहारीले भने। विशेष अतिथि तथा हास्य अभिनेत्री बसुन्धरा भूसालले परिवर्तन नेपालले विगतदेखि कला र पत्रकारिता क्षेत्रका व्यक्तित्वका लागि गर्दै आएको कार्यको सरहाना गरिन्। गायक बबीरोज ढकाल लगायतको गायन प्रस्तुति रहेको समारोहको सञ्चालन माधवराज खरेलले गरेका थिए।