नागरिक मन्त्रीद्वारा वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको समुद्घाटन


काठमाडौं
नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक जेठ १ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेद्वारा समुद्घाटन भएको छ ।

माननीय मन्त्रीद्वारा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन क्षेत्र मुलुकको कुल ग्राहस्थ उत्पादनको प्रमुख आधार रहेको र सो क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजाबाहक अपरिहार्य रहेको धारणा राख्दै राष्ट्रिय ध्वजाबाहकलाई सबल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो । साथै आपत विपतको समयमा नेपालको हवाइ भाडामा हुने अस्वभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनको निमित्त पनि आन्तरिक तथा अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्नका लागि निगमलाई थप जहाजहरु आवश्यक पर्ने जनाउँदै सो का लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राख्नुृभयो ।
यसैसाथ, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीज्यूले निगमको अन्तराष्ट्रिय स्टेशनहरुमा खटिएर जाने कर्मचारीहरु निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकोले इमान्दारीता पूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरि कार्य गर्न निर्देशन गर्नुहुँदै निगममा थप जहाज प्राप्तिको लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको, वर्तमाान माननीय मन्त्रीज्यू समेतको निर्देशनमा इन्जिनियरिङ विभागहरुको सुधारका निमित्त एक अध्ययन उपसमितिमार्फत् तीव्र गतिमा कार्य भैरहेको, सात वटै प्रदेश सरकारहरुको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भैरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरि प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिनुभयो । साथै, विपतको समयमा मुलुकको लाइफको रुपमा काम गर्ने राष्ट्रिय ध्वजाबाहक निगमलाई थप सबल र सक्षम बनाउँदै जहाज खरिद जस्ता महत्वपूर्ण परियोजना राष्ट्रिय गौरवका योजनाहरुसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

साथै खरिद विनियमावली अन्य देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीहरुकोसँग मिल्दोजुल्दो हुनुपर्ने भन्दै अन्यथा यहि निर्णय प्रक्रिया र खरिद विनियमावलीले अगाडि बढ्न कठिन हुने जनाउँदै कार्यकारी अध्यक्षज्यूले विशेषगरि प्राविधिकहरु, पाइलट तथा इन्जिनियर लगायत अन्य दक्ष कर्मचारीहरुको पलायन रोक्दै कार्यक्षमता अभिवृद्धिको लागि निगम स्वयम्ले भत्ता सुविधाहरु बढाउन सक्ने प्रबन्ध हुनुपर्ने माग माननीय मन्त्रीज्यूसमक्ष राख्नुभयो ।

निगम बजार व्यवस्थापन विभागद्वारा निगमको केन्द्रीय कार्यालयमा आयोजित सो दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेज्यू, लगायत मन्त्रालयका प्रतिनिधिहरु, निगमको सम्पूर्ण विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु र आठ मुलुकबाट दश कन्ट्रि म्यानेजर–म्यानेजर लगायतको उपस्थिति रहेको थियो ।