आगलागी नियन्त्रणमा खेलासी


बुधबार काठमाडौंको मखनटोलमा ग्यास लिक हुँदा चारतले एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य घरलाई समेत असर गरेको छ । यतिमात्र भए त हुन्थ्यो, सो आगलागीमा परेर एकजनाको ज्यान नै जानु चानचुने कुरा होइन ।

यो आगलागी नियन्त्रण गर्न सम्बन्धित निकाय चुकेकै हो, त्यसैले मानिसको ज्यान गयो । यतिखेर गर्मी बढ्दै गएको छ । कतिपय स्थानमा पानी पर्न सकेको छैन । यससँगै हावाहुरीका कारण आगलागीका घटना पनि वृद्धि हुन थालेका छन् । एकातिर सुख्खा मौसमका कारण आगलागीका घटना हुने गरेका छन् भने अर्कोतिर सतर्कता नअपनाउँदा आगलागीले घर नै सखाप भएको समाचार आएको छ ।

विशेष गरी आगलागीका घटना न्यूनीकरण गर्ने पूर्वयोजना नभएका कारण नै यसबाट धेरै क्षति हुने गरेको बताइन्छ । यस मौसममा प्रायः पहाडी वनक्षेत्र र ग्रामीण भेगमा आगलागीका घटना बढी हुने गरेको पाइन्छ । राजधानीलगायत शहरी क्षेत्रमा भने धेरैजसो विद्युतीय सामग्री एवम् खाना पकाउने ग्यासको प्रयोगमा हुने हेलचेक्र्याइँबाट आगलागी हुने गरेको पाइन्छ । जुन कारणबाट आगलागी भए पनि यस मौसममा चल्ने हावाहुरीका कारण घटना झनै भयावह हुन पुग्छ । त्यसैले आगलागी न्यूनीकरण एवम् नियन्त्रणका लागि सरकार बेलैमा सचेत हुनु जरुरी छ ।

मखनटोलको आगलागी नियन्त्रण गर्न सम्बन्धित निकाय चुकेको हो । राजधानीजस्तो क्षेत्रमा आगलागी हुनासाथ नियन्त्रण गर्न सकिने गरी सम्बन्धित नियकाय तयारी अवस्थामा रहनुपर्ने हो तर त्यो हुन सकेन । घरमा मात्र होइन, सुख्खा मौसमसँगै वनक्षेत्रमा पनि डढेलो लाग्न सक्छ । वनक्षेत्रमा बढ्दो आगलागीले वन पैदावरसँगै बहुमूल्य जडीबुटी, पशुपक्षीहरुमा समेत ठूलो असर पर्ने हुन्छ । त्यसैले त्यस्ता स्थानमा पनि डढेलो रोक्न स्थानीय निकायहरु तयारी अवस्थामा रहनुपर्छ । घटना भएपछि पछुताउनुभन्दा बेलैमा पूर्वसावधानी अपनाउनु बेस हुन्छ । आवश्यक साधन–स्रोत र चेतनाको अभावले पनि चाँडै नियन्त्रण गर्न नसकी आगलागीका घटनामा वृद्धि भएको हो ।

यस बेला हावाहुरीको मौसम भएकाले पनि आगलागीले थप सम्भावित जोखिम बढाएको छ । सामान्यतया लोडसेडिङपछि बिजुली ननिभाउने गर्दा बिजुली आएपछि एकैपल्ट प्रवाह हुँदा उत्पन्न हुने हाई भोल्टेजका कारण आगलागीका घटना बढेका छन् । हिटर, इन्डक्सन चुलोलगायतका विद्युतीय सामग्री सही तरिकाले प्रयोग गर्न नजान्दा, खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा र कोठामा इन्धन सञ्चित गर्दा पनि आगलागीका घटना बढेको पाइन्छ ।

यस मौसममा चल्ने हावाहुरीका कारण घटना झनै भयावह हुने गर्छ । त्यसैले सरकारले सम्बन्धित निकायलाई आगलागी न्यूनीकरण र नियन्त्रणका लागि जुनसुकै बेला आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने व्यवस्था मिलाउनु जरुरी छ ।
– विश्वजित ‘नगरवासी’, काठमाडौं ।