काठमाडौंमा इजरायलको ७७औँ स्वतन्त्रता दिवस मनाइयो

नेपाली पीडित परिवारलाई सहयोग निरन्तर रहने दूतावासको प्रतिबद्धता

752
Shares

काठमाडौं ।
इजरायलको ७७औँ स्वतन्त्रता दिवस र नेपाल–इजरायल कूटनीतिक सम्बन्धको ६५औँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ काठमाडौंस्थित इजरायली दूतावासले एक विशेष सांस्कृतिक र कूटनीतिक कार्यक्रम आयोजना गर्‍यो ।
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी सो कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न दलका नेताहरू, कूटनीतिज्ञ, सञ्चारकर्मी तथा इजरायलका शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।


कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत राजदूत श्मुलिक एरिए बासले इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको जिकिर गर्दै नेपाल–इजरायल सम्बन्धलाई बहुआयामिक र विश्वासप्रद भन्दै शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र साइबर सुरक्षाजस्ता क्षेत्रमा सहकार्य निरन्तर अगाडि बढिरहेको बताए। उनले भने-‘नेपालसँगको हाम्रो सम्बन्ध भावनात्मक र व्यवहारिक दुवै दृष्टिले मजबुत हुँदै आएको छ।’


कार्यक्रममा हमासको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका १० नेपालीलाई श्रद्धाञ्जली दिंदै राजदूत बासले पीडित परिवारलाई निरन्तर आर्थिक र नैतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहायता नरोकिने स्पष्ट पारे । सन् २०२३ अक्टोबर ७ मा हमास आतङ्ककारी समूहले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत रहेका १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने एक जना नेपाली विपिन जोशीलाई हमासले बन्दी बनाएको थियो । उनको अझैसम्म पनि कुनै अत्तोपत्तो छैन ।

राजदूत बासले इजरायलले नेपाली पीडित परिवारहरूलाई निरन्तर साथ दिइरहेको जानकारी दिंदै भने- ‘हामी उनीहरूसँग ऐक्यबद्धताका साथ उभिएका छौं ।’ उनले इजरायल सधैँ शान्ति, समृद्धि र मित्रतालाई आत्मसात् गर्दै आएको र मध्यपूर्वमा दिगो शान्ति स्थापनाको पक्षमा निरन्तर क्रियाशील रहेको पनि बताए।

कार्यक्रममा उक्त आक्रमणबाट ज्यान जोगाउन सफल नेपाली युवा धनबहादुर चौधरी र इजरायली नागरिक नोआ बीयरको वास्तविक अनुभव झल्काउने भिडियो देखाइएको थियो। यसबाहेक, हाल हमासको कब्जामा रहेका नेपाली युवक बिपिन जोशीको दिदीको भावुक अपिलले पनि उपस्थित सबैको मन छोयो।कार्यक्रममा हिमाली बोर्डिङ स्कूलका विद्यार्थीहरूले नेपाली र इजरायली झल्को दिने नृत्य प्रस्तुत गरेका थिए ।

इजरायली तथा नेपाली परिकारहरूको स्वाद पस्किनुका साथै फोटो प्रदर्शनी पनि गरिएको थियो ।साथै, इजरायली जनताको २,००० वर्ष लामो संघर्ष, पुनःस्थापना र सफलताको यात्रा झल्काउने प्रेरणादायी भिडियो पनि प्रदर्शन गरिएको थियो।

नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्ध सन् १९६० जुन १ मा स्थापना भएको हो। त्यसको एक वर्षमै सन् १९६१ मा काठमाडौंमा इजरायली दूतावास स्थापना गरिएको थियो।
राजदूत बासले हालसम्म ४,००० भन्दा बढी नेपाली युवाहरूले इजरायली कृषि तथा शैक्षिक संस्थाबाट तालिम लिएको जनाउँदै भविष्यमा सूचना प्रविधि र साइबर सुरक्षामा समेत सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। पीडाको सम्झनाबीच मनाइएको यो कार्यक्रमले दुई मुलुकबीचको मित्रताको सन्देश अझ गहिरो बनाएको थियो।