डि सिने अवार्डमा सौगात र केकी उत्कृष्ट


कीर्तिपुरमा बुधबार आयोजित प्रिज्मा १६औँ डि सिने अवार्डमा सौगात मल्ल र केकी अधिकारीले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड चुमेका छन्।

छायाँछवि क्रियसनद्वारा कीर्तिपुर स्थित सिनेप्लेक्समा आयोजित समारोहमा सौगातले फिल्म अगस्त्यबाट र केकीले प्रसाद २ बाट अवार्ड चुमेका हुन्। समारोहमा फिल्म बुलाकीले उत्कृष्ट फिल्मको अवार्ड चुम्दा सोही फिल्मबाट राज बहादुर सानेले लेखन, रातले कु¥या चन्द्रमा बोलको गीतबाट करण परियारले गायक र शिव ढकालले छायाँकारको गरी ४ अवार्ड चुमे।

नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा फिल्म उपहारबाट पूजा शर्माले सह–अभिनेत्रीको अवार्ड जितिन् भने सोही फिल्मको कहिले बार बिर्सिन्छु बोलको गीतबाट अर्जुन पोखरेलले संगीतकार र वा वा वा बोलको गीतबाट कविराज गहतराजले नृत्य निर्देशक, शाश्वत श्रेष्ठले पाश्र्व संगीत र सञ्जय श्रेष्ठले ध्वनि मिश्रण गरी सर्वाधिक ५ अवार्ड चुमे।

त्यस्तै दिमाग खराबबाट निश्चल बस्नेतले निर्देशक, अगस्त्यबाट नाजिर हुसेनले सह –अभिनेता, जारीबाट उपेन्द्र सुुब्बाले नव निर्देशकको अवार्ड चुम्दा गोर्खा वारीयरबाट रितेश चाम्सले नव अभिनेता, नीरफूलबाट शान्ति वाईबाले नव अभिनेत्री र सोही फिल्मको तिमी बदनामी बोलको गीताबाट दुर्गा खरेलले गायिका, एैचोंपैैंचोबाट विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादक र काँडेतारबाट श्री श्रेष्ठले द्वन्द्व निर्देशकको अवार्ड चुमेका थिए।

समारोहमा जुरी अवार्डतर्फ काँडेतारलाई राष्ट्रिय फिल्म, बुलाकीबाट विराज विष्टलाई नव अभिनेता र टुल्कीबाट लिगेश भट्टाराईलाई नृत्य निर्देशकको अवार्ड प्रदान गरिएको थियो। २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा हास्य अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई छायाँछवि फिल्मकर्मी रजत सम्मानले सम्मान गरियो भने पत्रकार गीता अधिकारीलाई नगद १५ हजार ५ सय ५५ रुपियाँसहित रेखा फिल्म छायाँछवि फिल्म पत्रकारिता पुरस्कारबाट परस्कृत गरिएको छ। त्यस्तै डिजिटल फिल्म व्यवसायी ओम अग्रवाल, निर्माता नवीन श्रेष्ठ, संगीत व्यवसायी शिवराज पौडेल, मोडल निखिल बिसी, कलाकार तथा प्रस्तोता प्रिज्योल भण्डारी, गायिका अनिता कुँवरलगायतलाई सम्मान गरियो।


अवार्डका अध्यक्ष शान्तिप्रियले अवार्ड १६ संस्करण आइपुग्दाका उतारचढावबारे चर्चा गर्दै कुनै पनि हालतमा कलाकर्मीलाई प्रोत्साहन गर्ने कार्य जारी राख्ने बताए। कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले बोर्डको अध्यक्षको कार्यभार सम्हाल्लेपछि गरेका महत्वपूर्ण कार्यबारे प्रकाश पार्दै बनेपामा सुविधा सम्पन्न छायांकन स्टुडियो सिनेपा उद्घाटन गरिएको, केही दिनमा रियल टाइम बक्स अफिसको आरम्भ हुने र फिल्मकर्मीले विकास बोर्डस“ग सम्बन्धित कतिपय काम अनलाइनबाट नै गर्नसक्ने व्यवस्था गरिने बताए।