मनसुनपूर्व सशस्त्र प्रहरीको तयारी तीव्र

विपद् सूचकदेखि उद्धार एम्बुलेन्ससम्म


काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले मनसुनजन्य विपद् न्यूनीकरण तथा प्रभावकारी उद्धार कार्यका लागि देशव्यापी रूपमा रणनीतिक र प्राविधिक तयारी थालेको छ । यसअन्तर्गत ‘विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल’ सञ्चालन गरेको छ भने प्रत्येक वडास्तरसम्म विपद् सूचक परिचालन गर्ने भएको छ ।

एपीएफले आफ्ना सबै युनिटहरूमा विपद् व्यवस्थापनका आधारभूत सामग्रीहरू राख्ने, १५ दिने अनिवार्य विपद् तालिम समावेश गर्ने, र समुदाय लक्षित स्वयंसेवक तालिम समेत शुरू गरिसकेको छ । सशस्त्र प्रहरी बलले आफ्ना युनिटहरूलाई विपद् व्यवस्थापनको सन्दर्भमा साधनस्रोतको उपलब्धताअनुसार तीन तहमा वर्गीकरण गरेको छ । कम स्रोत भएका युनिटहरूमा प्राथमिकता दिँदै तत्काल आवश्यक सामग्री पु¥याउने तयारी गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हलचोकमा आयोजित समीक्षात्मक छलफलमा सबै युनिटहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रको गहिरो अध्ययन गर्न निर्देशन दिँदै भन्नुभयो– ‘विपद्का बेला सरकार र सुरक्षाकर्मी छन् भन्ने जनतामा विश्वास जगाउनुपर्छ ।’ उहाँले सबै गण, गुल्म र बाहिनीपतिलाई स्पष्ट खाका तयार गर्न निर्देशन दिँदै विपद् क्षेत्रमा यथासक्य चाँडो परिचालन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

हाल एपीएफसँग विपद् व्यवस्थापन तालिम प्राप्त २ हजार ४ सय ८५ जना जनशक्ति र १ सय ८ जना गोताखोर छन् । उनीहरू सातै प्रदेश र उपत्यकामा परिचालनमा छन् । एपीएफसँग ३३ मोटरबोट, ९१ ¥याफ्टबोट, १३ डोजर-लोडर-एक्स्काभेटर, २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर र १२ वटा डिप ट्युबेल तयारी अवस्थामा राखिएका छन् । एपीएफले ८ वटा सामूहिक उद्धार एम्बुलेन्स र ८ वटा ‘ए’ क्लास एम्बुलेन्स प्रदेशगत रूपमा तैनाथ गरेको छ । काठमाडौं उपत्यकामा सिनामंगल, कास्कीको फेवाताल र चितवनको नारायणी नदी किनारमा रेस्क्यु टावर स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कालिदास धौवजीले हामीले विगतका विपद् अनुभवलाई विश्लेषण गरेर पूर्वतयारीलाई सशक्त बनाएको बताउनुभयो । गाउँगाउँमा पूर्वसशस्त्र प्रहरीकर्मीमार्फत विपद् सूचक सक्रिय गर्दै छिटो सूचना संकलन र रेस्पोन्स पद्धति बलियो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।

विगतका बाढी, पहिरो र डुबानजस्ता घटनाबाट सिक्दै सशस्त्र प्रहरी बल, नेपालले यस वर्षको मनसुनलाई लिएर रणनीतिक, प्राविधिक र समन्वयात्मक तयारीको नयाँ अभ्यास अघि सारेको छ । सूचनादेखि उद्धारसम्मको सञ्जाल बलियो बनाउने एपीएफको यो अभियान देशका विपद् व्यवस्थापन प्रणालीमै उदाहरणीय बन्ने अपेक्षा गरिएको छ ।