स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव अर्थात् स्वास्थ्य सेवा अधिकृत १२ औं तहको बढुवाका लागि दुई महिनाअघि निवेदन माग गरिएको थियो ।
यसमा २४ जनाले निवेदन दिएका छन् । निवेदनउपर अन्तिम टुंगो लगाउनुपर्नेमा सिफारिस समितिको समय व्यस्तताका कारण तोकिएको समयमा बैठक नै बस्न सकेको छैन । स्वास्थ्य मन्त्रालयमार्फत दिइने सेवा–सुविधा लिनका लागि अस्पताल, स्वास्थ्य संस्थालगायतले नयाँ खरिदमा राजस्व छुटका लागि सहुलियत सुविधा पाउन अतिरिक्त सचिव स्तरीय निर्णय हुने व्यवस्था रहेको छ । बढुवा समितिको मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित छ ।
यो बैठक रोकिँदा महिनौँदेखि सामान खरिद प्रक्रिया पूरा गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजस्व छुटका लागि निवेदन पेस गरी निर्णयको प्रतीक्षामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुका निवेदनकर्ता अन्योलमा परेका छन् । यति मात्र नभई समयमा बढुवाको निर्णय नहुँदा उमेर हददेखि विभिन्न समस्या बढ्दै गएको छ । यस विषयलाई सरोकारवाला निकाय, स्वास्थ्य मन्त्रालयलगायतले गम्भीररुपमा लेओस् ।
स्वास्थ्य मन्त्रालयमा अहिले दुईवटा अतिरिक्त स्वास्थ्य सचिव पद दुई महिनाभन्दा बढी समयदेखि रिक्त छ । यति गम्भीर विषयको टुंगो लागोस् भन्ने चाहना सबैको हो । सरोकारवालहरु गम्भीर भएर निर्णयमा पुग्नुपर्ने देखिन्छ । उम्मेदवारको अपेक्षा हुनु स्वाभाविक हो । सिफारिस समितिले बनाएका मापदण्डको पूर्ण पालना गरी छनोट गरियोस् । योग्य र दक्ष व्यक्तिको उच्च सम्मान गरियोस् । समयमा समितिले काम नसक्दा स्वास्थ्यजस्तो गम्भीर विषयमा असर परिरहेको छ ।
विदेशबाट ल्याउनुपर्ने महँगा र अति आवश्यक स्वास्थ्य उपकरणहरु समयमा भित्र्याई जीवन बचाउनेतर्फ सोचौँ । विभिन्न औषधि, उपकरण, कच्चा पदार्थलगायत थुप्रै सामान भन्सारमा ठोस निर्णयको अभावमा महिनौंदेखि अलमलिएको गुनासो लिएर आउने सेवाग्राहीलाई निराश नबनाइयोस् । अतिरिक्त सचिव समयमा नियुक्त गर्न नसक्ने अवस्था हो भने समयमै वैकल्पिक व्यवस्था गरी सरकारको दायित्व समयमै पूरा गरियोस् ।
स्वास्थ्य समस्याको जटिलतालाई ध्यान दिई निर्णय लिन ढिलो नगरियोस् । योग्य उम्मेदवारको निवेदन लिने काम एक महिनाअघि नै पूरा भइसकेको छ । निवेदकको आवश्यक कागजात तथा विवरण रुजु गर्ने काम सकिइसकेको छ । अब मात्र सिफारिस समितिको बैठकले तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट सिफारिस हुने प्रक्रिया पूरा गर्ने काम स्वास्थ्य मन्त्रालयमा अड्किएको छ । यो प्रक्रिया छिटोभन्दा छिटो टुंग्याई कामकाज अघि बढाइयोस् । स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालय नै बाधक नबनोस् ।
सिफारिस समितिको बैठक समयमा नबस्दा निवेदकमध्येका एकजनाले आफ्नो निवेदन फिर्ता लिई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । यसरी नैराश्यता सृजना गर्नु राम्रो होइन । २०८१ साल फागुन १२ गतेबाट स्वास्थ्य सचिव र अतिरिक्त सचिवको पद रिक्त भएकोमा स्वास्थ्य सचिवको पदपूर्ति भइसकेको र कामकाज सम्हालिसकेको अवस्था छ ।
अतिरिक्त स्वास्थ्य सचिवको भने अहिलेसम्म टुंगो लागेको छैन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले २०८१ चैत्र ६ गते सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक व्यक्तिका लागि आवेदन १५ दिनका लागि खुल्ला गरेको थियो । तोकिएको मितिभित्र २४ जनाको निवेदन दर्ता भए पनि हाल एकजनाले आफ्नो नाम फिर्ता लिइसकेको अवस्था छ । यस अवस्थामा अबको प्रक्रिया पूरा गरी रिक्त पदमा समयमै नियुक्ति गरियोस् ।











प्रतिक्रिया