आगामी जेष्ठ २ गते रिलिजमा आउने फिल्म के घर के डेरा ः घर नं २ सहरको मौलिक कथा भएको दाबी यसका कलाकार तथा निर्देशकले गरेका छन्।
गाउँका कथामात्रै मौलिक नहुने तर्क अभिनेता खगेन्द्र लामिछानेको छ। ‘नेपालीका कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको होस् वा सहरको। राजधानीमा आयोजित पत्रकार भेटघाटमा खगेन्द्रको भनाइ थियो ‘गाउँबाट आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाङ्सगँ भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ। यो तोडिनुपर्छ।’ सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ छ। तर गाउँको भन्दा चरम गरिबी पनि छ। सहरी गरिबी झन् डरलाग्दो छ। बिजुलीको बिल तिर्न नसक्ने घरबेटी पनि छन्।’
निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर नभएको र घर बन्न इमोसन तथा सम्बन्ध चाहिने बताउँछन्। ‘गाउँमा सर्भाइभ गर्न सहज छ। सबैले सबैलाई चिनेको हुन्छ। सहयोग गर्छ। तर, सहरमा कसैलाई चिन्दैन। घर टाँसिएका छन्, मन टाँसिएको हुँदैन। त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन्। मलाई सहरका कथा भन्न मन लाग्छ। यी सबै कथा मौलिक हुन्’ दिपेन्द्रले भने ‘के घर के डेरा ः घर नं २ मेरो छुट्टै कथा र आर्कमा बनेको छ। यसमा पशुपतिका केही दृश्य देखिए पनि धेरै कथा पशुपतिको होइन।’
अभिनेत्री केकी अभिकारीले अग्र्यानिक कथा भन्ने बित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य गलत भएको बताइन्। ‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो। नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो’ केकीको भनाइ छ ‘अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ। गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन्। के घर के डेरा ः घर नं २ को आत्मा लेखक र निर्देशक हुन्। एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग जोडिन्छन्, त्यो नै यो फिल्मको महत्वपूर्ण पक्ष हो।’
साहित्यकार बुद्धिसागरले कथा लेखेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन्।











प्रतिक्रिया