एल क्लासिकोमा बार्सिलोनाले मर्‍यो  बाजी


लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगाको सिजनको दोस्रो ‘एल क्लासिको’ मा बार्सिलोनाले बाजी मारेको छ ।
आइतबार राति भएको खेलमा रियल मेड्रिडमाथि ४–३ गोल अन्तरको रोमाञ्चक जित हासिल गर्दै लिग बार्सिलोनाले उपाधितर्फ महत्वपूर्ण अग्रता लिएको छ । यस जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोड्दै शीर्ष स्थान सुरक्षित राखेको छ भने दोस्रो स्थानको रियल मेड्रिडको ७५ अंक रहेको छ ।

खेलको सुरुवातमा रियलले केलियन एमबाप्पेको दुई गोलमार्फत १४औं मिनेटसम्ममा दुई गोलको अग्रता लिएको थियो । पाँचौं मिनेटमा पेनाल्टीमार्फत र १४औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै एमबाप्पेले अग्रता दोब्बर पारेका थिए । तर, त्यसपछि बार्सिलोनाले लगातार चार गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लियो ।

बार्सिलोनाका लागि १९औं मिनेटमा एरिक गार्सियाले कर्नर बलमा हेडिङ गोल गर्दै खाता खोले । त्यसपछि ३२औं मिनेटमा लामिन यामालले गोल गर्दै खेल बराबरीमा ल्याए । ३४औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाए भने ४५औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपे ।
तेस्रो गोलमा फेर्रान टोरेसले असिस्ट प्रदान गरेका थिए । रियलले पहिलो हाफमै पाएको एक पेनाल्टी भिएआरले रद्द गरेको थियो । दोस्रो हाफमा पनि रियलको एक गोल र अर्को सम्भावित पेनाल्टी भिएआरको समीक्षा पश्चात खारेज गरिएको थियो ।

खेलको ७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै स्कोर ४–३ मा झारे । इन्जुरी समयमा बार्सिलोनाका फर्मिन लोपेजको गोल पनि ह्यान्ड बलको कारण भिएआरले खारेज गरेको थियो । यस सिजनमा बार्सिलोनाले भएको चारैवटा एल क्लासिको जित्दै रियलमाथि ‘क्लिन स्वीप’ गरेको छ ।
रियललाई ला लिगाको दुवै लेगका खेल, कोपा डेल रे फाइनल र सुपर कप फाइनलमा बार्साले हराएको छ । अब लिगको अन्तिम तीन खेल बाँकी रहँदा बार्सिलोनाले एक खेल जितेमा ला लिगा उपाधि सुनिश्चित गर्नेछ ।