पब्जी मोबाइलमा नेपाल तेस्रो र चौथो


काठमाडौं। 

नेपाल ई–स्पोर्टस संघ (इसान) को आयोजनामा आइतबार सम्पन्न पब्जी मोबाइल एसियन शोडाउन २०२५ मा नेपाल नीलो तेस्रो भएको छ । 

तीन दिनसम्म चलेको प्रतिस्पर्धाको अन्तिम दिन नेपाल नीलो दुई वटा चिकेन डिनर जित्दै १५४ अंक जोड्दै तेस्रो स्थानमा रहेको हो । १४ देशका टोलीको सहभागिता रहेको प्रतियोगितिामा नेपाल रातोले ११८ अंकसहित चौथो स्थान प्राप्त ग¥यो । नेपालबाट तीन टोली सहभागि प्रतियोगितामा नेपाल सेतोले कुनै स्थान हासिल गर्न सकेन । 

यस शोडाउनको उपाधि पाकिस्तानले दुई दिनसम्म अग्रतामा लिएको इन्डोनेसियालाई अन्तिम दिन हराएर जितेको थियो । पाकिस्तानले कूल १५ खेलमा १७३ अंक जोडेको थियो । अन्तिम दिन पाकिस्तानले दुई चिकेन डिनर जित्दै इन्डोनेसियालाई चार अंकले पछि पारेको थियो । 

इन्डोनेसिया अन्तिममा चुक्दा १६९ अंकसहित दोस्रो स्थानमा रह्यो । यस्तै, मलेसिया ११२ अंक र जोर्डनले ९० अंक जोड्दै क्रमशः पाँचौं र छैटो स्थानमा रहे । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फलकले प्राप्त गरे । उनले सम्पूर्ण प्रतियोगिताभरमा निरन्तर आक्रामक र निर्णायक भूमिका निर्वाह गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । 

पुरस्कार 

विजेता पाकिस्तानले ४ लाख रुपियाँ प्राप्त गर्दा इन्डोनेसियाले २ लाख नगद पुरस्कार प्राप्त गरेको थियो । यस्तै, नेपाल नीलोले १ लाख ५० हजार र नेपाल रातोले १ लाख नगद प्राप्त गरे । मलेसिया र जोर्डनले समान ५० हजार रुपैयाँ पाएका छन् ।