ड्रेस टु इम्प्रेसमा ४ डिजाइनर सर्वोत्कृष्ट


आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनद्वारा हालै राजधानीमा आयोजित ड्रेस टु इम्प्रेस सिजन ११ मा चार डिजाइनर सर्वोत्कृष्ट भएका छन्।

प्रतियोगितामा फेसन डिजाइनरहरू रोजिना भण्डारी, साहिल जंग क्षेत्री, ललिता हासदा र करिश्मा बुचा मगर विभिन्न चार विधामा सर्वोत्कृष्ट भएका हुन्। प्रतियोगितामा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर, साहिल जंग क्षेत्रीले पप आर्ट एण्ड इलेक्ट्रिक इलिमेन्टस, ललिता हासदाले द आर्ट एण्ड द आर्टिष्ट र करिष्मा बुचा मगरले प्रिल सीकर्स विधातर्फ सर्वोत्कृष्ट हासिल गरेका हुन्।


प्रतियोगितामा डिजाइनर समा राईले आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियनको उपाधि जितिन् भने सरिता थापा मगरले आईआईएफटी स्ट्रोम्स सर्ड च्याम्पियनको उपाधिलाई आप्mनो बनाइन्।

त्यस्तै डिजाइनर प्रजिना तुलाधरले आईआईएफटी पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन्। प्रतियोगितामा फेसन डिजाइनरहरू निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाख्वा, निशा श्रेष्ठ, सञ्जिता बराल र द हिडन ट्रेजरका निर्देशक रुपेश प्रधान निर्णायक रहेका थिए। मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी र मिस नेपाल अर्थ २०२४ सुमना केसीका साथमा अभिनेत्री दिया मास्के शोस्टपरको रूपमा रहेका थिए।

आयोजक आईआईएफटी नेपालका अध्यक्ष फुपू तेञ्जिङ शेर्पाले ड्रेस टू इम्प्रेसमा आईआईएफटी स्कुल अफ फेसन डिजाइनमा अध्यनरत विद्यार्थीले आफ्ना लागि आफैँले ड्रेस बनाएर, आफैँले लगाएर आफैँ स्टेजमा प्रस्तुत गर्ने परम्परा रहेको जानकारी गराए। समारोहमा फेसन डिजाइनका विद्यार्थीहरूले चार थिममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजना प्रदर्शन गरेका थिए। आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ।