भर्सटाइल कलाकारको छवि बनाएका अभिनेता सौगात मल्ललाई दुई दशकअघि साहित्यकार इन्द्रबहादुर राईको कथा जार पढेदेखि नै उनलाई यसमा काम गर्ने मन थियो, तर यो संयोग अहिले आएर जुरेको छ।
‘२७ वर्षअघि गुरुकुलमा नाटक जार हेरे, त्यसमा अभिनय गर्न नपाए पनि किताब पढिसकेको थिए। म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिए। जसले गर्दा त्यो नाटकमा काम गर्न पाइन’, सौगात सम्झन्छन् ‘कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन। मलाई पनि त्यस्तै भयो।
जब त्यो कथा पढे, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो। त्यसबेला फिल्म सोच्ने भइसकेको थिइन। त्यही फिल्मका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो। म यसको मुख्य मात्रै होइन, जुनसुकै रोलका लागि तयार थिए। तर मुख्य रोलका लागि नै अफर आएपछि झन् धेरै खुसी मिल्यो।’
सौगातका अनुसार फिल्ममा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउमा काँडा नै उम्रिएको थियो। ‘मैले कागबेनीको चरित्र पछि जारलाई सँगालेर राखेको थिए। गुरुकुलमा इन्द्रबहादुर राई आउनु हुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो। तर मैले फिल्म साइन गरिसकेको थिए।’

कथा पढेपछि तीन महिनासम्म जारकै पात्रमा बसेको सौगातले सुनाए। ‘मैले जब यो कथा पढेँ, कथाले यसरी तान्यो म त्यसभित्रै डुबेछु। तीन महिनासम्म त जारबारे कसैले कुरा गर्दा पनि मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो। जारमा काम गर्ने रहर नाटकमा नभए पनि फिल्मबाट पूरा भयो। फिल्ममा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’ सौगातले सुनाए।
२ सय २५ वर्ष अगाडिको कथामा आधारित जारमा सौगातले अभिनेता अनुपविक्रमको श्रीमति गीताञ्जलीलाई भगाउने चरित्र निर्वाह गरेका छन्। ‘१८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती थियो। त्यो बेलाको समाज, नियम, कानुन, भाषा, परिवेशमा हामी बाँधिएका थियौँ। हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ। अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन् कस्तो होला?’ सौगात भन्छन्।
फिल्मका अर्का अभिनेता अनुपविक्रम शाही जारका लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मिहिनेत गरेको दाबी गर्छन्। आगामी शुत्रबारबाट रिलिजमा आउने जारजस्तो फिल्मको हिस्सा बन्न पाउनु आप्mनो करियरको ठुलो उपलब्धि रहेको बताउँछन्। ‘यो फिल्म मेरो लागि थप विशेष छ, मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु’ अनुपविक्रम भन्छन् ‘जारको हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मिहिनेत गरेको छु’ उनले दाबी गरे।
निर्देशक फुर्वाछिरिङ लामाले जारले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको बताए। फिल्मका कार्यकारी निर्माता ज्योति क्षेत्रीले एउटा उत्कृष्ट फिल्म तयार गर्न लगानीमा कुनै सम्झौता नगरिएको बताइन्। फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय फिल्म पुरस्कार लायर्स डाइस विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख भूमिकामा छिन्।
नेपाल मात्रै नभई बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी गीताञ्जली नेटप्mिलक्स सिरिज सेक्रेड गेम्समा पनि अभिनय गरेकी छन्। उनीद्वारा अभिनीत फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायतका विश्वचर्चित फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्।
नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिजमा आउने फिल्म फेरि टेल पिक्चर्स, होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन रहेको छ।











प्रतिक्रिया