काठमाडौं
माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगंगा –७ मा निर्माणधी उक्त आयोजना २२.५ मेगावाट क्षमताको हो ।
ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको निर्माण तीन वर्षअघि सुरू भएको थियो । निर्माणमा भौतिक प्रगति ९० प्रतिशत पुगेको आयोजना प्रमुख लोकबहादुर नायकले बताउनु भएको छ । उहाँका अनुसार बाँध, विद्युतगृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युतगृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
यही वैशाख महिनासम्ममा परीक्षण उत्पादन सुरू गर्ने आयोजनाको कार्यतालिका थियो । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण काम रोकिंदा तालिका पछि सरेको उनले बताए । ’अप्ठ्यारो सडकले हाम्रा उपकरण ढुवानी रोकिंदा जडान गर्न ढिलाइ भएको हो,’ उहाँले भन्नुभयो ।
सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह परिसरमा स्विचयार्ड निर्माण गर्न थालिएको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर ५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ ।
बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला– मंगले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ ।
देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बीएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ ।
‘











प्रतिक्रिया