आरभको तेस्रो र स्वस्तिकाको पहिलो उपाधि


काठमाडौं।

आरभसम्राट हाडा र स्वस्तिका विष्ट ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधितर्फ क्रमशः पुरुष र महिलामा विजेता बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । आरभको यो समग्रमा तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ«े टेनिसको उपाधि जितेका थिए ।
सोही विधातर्फ निहाल जंगबहादुर थापा र राजवीर प्रधान तेश्रो भए । आठौं र दसौं संस्करणका विजेता प्रदीप खड्का भने क्वार्टरफाइनलमै रोकिए । प्रदीपलाई राजवीरले हराएका थिए ।

महिला सिंगल्स फाइनलमा स्वस्तिकाले नवौं र दसौं संस्करणकी विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन् । ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो ।
सोही विधातर्फ आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।