शक्ति संघर्षमा शिवांश


शक्ति संघर्षको कथामा शिवांश नाममा फिल्म निर्माण गर्ने घोषणा गरिएको छ। फस्टलुक सार्वजनिक गर्दै शिवांश: च्याप्टर १ निर्माणको घोषणा गरिएको हो।


अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा अञ्जान केसीले निर्माण तथा सन्तोषकुमार आत्रेयले डेब्यु निर्देशन गर्ने फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारले पनि अभिनय गर्ने छन्।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिङ्गो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ।

शोभा भण्डारी र अनिश केसी बोगटी सह–निर्माता रहने फिल्ममा अञ्जान केसीको लेखन, बारत लिम्बुको पटकथा, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, राजनराज शिवाकोटी र विप्लव प्रतीकको शब्द रचना, राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर, विक्रम चोहानको नृत्य निर्देशन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन र सरद महतोको छायांकन रहनेछ। फिल्म आगामी असोज २४ गते रिलिजमा आउने छ।