गायक आर्जन पाण्डेको गायन क्षेत्रमा एक दशक बितिसक्यो, तर यति लामो समयमा उनले केवल दुई दर्जन गीतमा मात्र स्वर दिएका छन्।
संख्यामा भन्दा बढी गुणस्तरमा विश्वास गर्ने भएकाले उनले यति लामो अवधिमा दुई दर्जन गीत मात्र गाएका हुन्। त्यतिकै हाराहारीका आप्mना गीतको भिडियोमा मोडलिङ पनि गर्दै आएका उनले सन् २०१५ मा पहिलो गीतस्वरुप ओइलिएर झर्न दिन्न बोलको गीत सार्वजनिक गरेका थिए। सङस् नेपाल युट्युब च्यानलबाट अपलोड गरिएको त्यो गीत त्यो जमानामै एक दिनमै एक लाखपटक हेरिएको थियो।
‘त्यो च्यानलमा एक दिनमा एक लाख पुगेको गीत त्यो नै पहिलो गीत थियो’ आर्जन भन्छन् ‘सामाजिक सचेतनाको बारेमा तयार पारिएको सो गीत एसिड आक्रमणका बारेमा थियो, जसले गर्दा दर्शकको ध्यान तान्यो।’ काठमाडौैंमा जन्मे हुर्केका आर्जनलाई संगीत क्षेत्रमा लाग्न र आर्थिक हिसाबले कुनै कठिनाइ भोग्नु परेन। तापनि गीत संगीत क्षेत्रमा नाम कमाउन र टिकिराख्न फरक किसिमको संघर्ष आवश्यक रहेको र त्यो अझै जारी रहेको उनको भनाइ छ।
पेशाले सफ्टवेयर ईन्जिनियर रहेका उनको गीत संगीतको मोहमा पारिवारिक कारण पनि छ। मामाघरका हजुरबुवा तथा रेडियो नेपालका प्रथम गायक स्व. हरिप्रसाद रिमाल र साहित्यकार गोपालप्रसाद रिमालको पनि गुण आफूमा आएका कारण पनि संगीत क्षेत्रमा आकर्षित भएको आर्जन सुनाउँछन्। ‘मेरो जिनमै गीत संगीत भएका कारण पनि मलाई गायनले आकर्षित गरेको हुनुपर्छ’ उनी भन्छन्।
रिमाल परिवारसँग आफ्नो नाम जोडिएका कारण पनि आर्जन जस्तो पायो त्यस्तो गीत गाउँदैनन्। पुर्खाको पाइलालाई पछ्याइरहेका आर्जन आफूले संख्याभन्दा पनि गीतको गुणस्तरमा ध्यान दिने गरेको बताउँछन्। ‘मैले जहिले पनि क्वान्टिटि भन्दा क्वालिटिमा ध्यान दिएकाले मेरा करिव दुई दर्जन जति मात्र गीत छन्। तर सबैमा मैले गुणस्तरमा ध्यान दिएको छु। मेरो लागि शब्द र कम्पोजिसन राम्रो हुनुपर्छ र शब्द क्याची हुनुपर्छ।
साथै अहिलेको जेनेरेसनको टेस्टअनुसारको हुनुपर्छ’ उनको भनाइ छ। आर्जन गीत तयार गर्ने बेला पहिला आफ्नो परिवारलाई सुनाउने गर्छन् र सबै जनालाई मन परेको खण्डमा मात्र सो गीतलाई अघि बढाउँछन्। ‘मेरो आईटी ब्याकग्राउण्ड भएकाले कामको समय फ्लेक्जिबल छ अफिस नै जानुपर्छ भन्ने छैन। त्यसैले मैले गायन र आईटीको कामलाई समानरूपमा अघि बढाएको छु’ आर्जनले प्रष्ट्याए।
ओइलिएर झर्न दिन्नको साथमा रेलिमाई, घाँटीभन्दा तल, सम्झनाले सताइरह्यो, तिमीलाई हेरिहेरि, रात परेपछि, परेली झिमिक्कैजस्ता गीत गाएका आर्जनले लप्पन छप्पन २ फिल्मको टाइटल सङ झूसे बारुलो पनि गाएका छन्।
नेपालमा महोत्सव, अवार्डलगायतका कार्यक्रममा आफ्नो प्रस्तुति दिएका उनले साउदी अरेबियाको सरकारले आयोजना गरेको जेदा सिजनमा करिव १५ हजार दर्शकमाझ प्रस्तुति दिएका थिए। करिव ७-८ देशका कलाकारको सहभागिता रहेको सो समारोहमा नेपाली कलाकारको प्रतिनिधित्व गर्दै उनीले प्रस्तुति दिएका थिए। त्यस्तै बेलायतमा आयोजना भएको यति इन्टरनेसनल फिल्म अवार्डमा पर्फम गरेका छन्।
उनले अनगिन्ती गायनसम्बन्धी शो पनि गरेका छन्। ईमेज अवार्ड २०१६ मा नव कलाकारको अवार्ड पाएका उनले नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२४ र शिरफूल फिल्मबाट नेपाल अफ्रिकन फिल्म फेस्टिभलमा अवार्ड पनि जितेका छन्। बलिउड कम्पोजर तथा सारेगमपका प्रतियोगी रिमी धरका साथ पनि सहकार्य गरेका उनी संगीत सिर्जनामा पनि सिपालु छन्। उनले किन किन हो बोलको गीत कम्पोज गरेका छन्।
बहुप्रतिभाका धनी आर्जन गायनका साथै मोडलिङ गर्न पनि उत्तिकै मन पराउँछन्। त्यसकारण आफ्नो गीतमा प्रायः आफैं मोडलिङ गर्छन्। उनले आफूले गाएका गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका इन्दिरा जोशीलगायतका साथ मोडलिङ गरेका छन्। ‘दर्शकका बिच चिनिन स्वर मात्र दिएर हुँदैन पर्दामा देखिन पनि उत्तिकै जरुरी छ’ भन्ने उनी बाहिरको गीतका लागि मोडलिङको अफर आएको बताउँछन्। उनले सिटिजन्स बैङ्क, बाल्ट्रालगायतका भिडियो तथा छापामाध्यमका लागि विज्ञापनमा पनि मोडलिङ गरेका छन्।
विद्यालयमै संगीतकार राजु सिंहमार्फत संगीत सिक्ने मौका पाएका उनले विद्यालयपछि अन्य स्थानमा संगीत सिकेनन्। रियाजमा पनि ध्यान दिने गरेको बताउने उनी करिव दुई घण्टा गीत गाउँछन्। पिम नेपालका उपाध्यक्ष रहेका उनी पछिल्लोपटक गीत संगीतमा गायन तथा भिडियोमार्फत विकृति फैलिएको र सो विकृति नियन्त्रणमा राख्न संघ संस्थाले भूमिका खेल्नुपर्ने बताउँछन्। ‘फ्रिडम अफ स्पिचका कारणले पनि पहिला भन्दा केही विकृति आएका छन्। पहिले सीमित रेडियो र टेलिभिजन हुन्थे र त्यहाँबाट सेन्सर हुन्थ्यो, अहिले सामाजिक सञ्जालको जमानामा यस्ता कुरामा फिल्टर गर्न निकै गाह्राे छ’ उनको ठम्याइ छ।











प्रतिक्रिया