बलिउड अभिनेत्री आलिया भट्टका फ्यान असङ्ख्य छन्। बलिउडकी चल्तीकी यी नायिकालाई धेरैले उनको सुन्दरताका साथै अभिनय क्षमताका लागि पनि प्रशंसा गर्छन्, तर हालैको एक अन्तर्वार्तामा आलियाको सौतेनी दाजु राहुल भट्टले उनको आलोचना गर्दै अन्तर्वार्ता दिएका छन्। सो अन्तर्वार्तामा उनको भनाइलाई लिएर चर्चा भइरहेको छ।
अन्तर्वार्तामा राहुलले आलियाको तुलना आफ्नी दिदी पूजा भट्टसँग गरेका छन्। ‘सुन्दरता र प्रतिभामा आलिया, पूजा भट्टको आधा पनि छैनन्’ रस नामक सञ्चार माध्यमलाई दिएको अन्र्तवार्तामा जब राहुल भट्टलाई सोधियो कि के आलिया भट्ट परिवारको लिगेसी अघि बढाइरहेकी छन्, उत्तरमा उनले भनेका छन् ‘मेरो विचारमा, उनी (आलिया) मेरी दिदी (पूजा भट्ट) को अगाडि आधा पनि होइनन्।
उनमा न त प्रतिभा, न त लुक्स, न त सेक्स अपिल नै छ। मेरी दिदीको अगाडि उनी पानी कम भएको चिया हुन्। यदि तपाईं हामी सबै दाजु–भाइ र बहिनीमा सबैभन्दा प्रतिभाशाली को हो वा सबैभन्दा नैतिक को हो भन्ने सोध्नु्हुन्छ भने त्यो पूजा हो।’
राहुलले पूजा भट्ट नै उनका पिता महेश भट्टको सम्पत्तिको वास्तविक उत्तराधिकारी भएको बताएका छन्।
अन्तर्वार्तामा उनलाई आलियाका पति रणवीर कपूरको बारेमा सोध्दा उनी एक राम्रो पिता भएको तर अभिनयबारे थाहा नभएको जवाफ दिएका छन्। ‘उनी एक असल पिता हुन्। अभिनयका बारे मलाई के थाहा, मलाई त थाहा नै छैन को अभिनेता हो, को एनिमल हो, को कपूर हो। छोरीलाई माया गर्नुहुन्छ, मेरी सौतेनी बहिनीको इज्जत गर्नुहुन्छ, बस त्यही काफी छ’ उनले भनेका छन्। उनको यो भनाइ पछि हाल राहुलको धारणा चर्चामा रहेको छ।
महेश भट्टले सन् १९७० मा किरण भट्टसँग विवाह गरेका थिए, जसबाट पूजा र राहुल जन्मिए। सन् १९८६ मा उनले सोनी राजदानसँग दोस्रो विवाह गरे। जसबाट आलिया भट्ट र शाहीन भट्ट छन्। सोनीका साथ विवाह गर्नका लागि उनले इस्लाम धर्म अपनाएका थिए। जसले गर्दा उनले पहिलो पत्नीका साथ सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्ने छुट पाएका थिए।











प्रतिक्रिया