जारको वल्र्ड प्रिमियर सिक्किममा


आगामी २६ गते रिलिजमा आउने फिल्म जारको आज बुधबार गान्तोक सिक्किममा वल्र्ड प्रिमियर हुने भएको छ।


निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितका टोली वल्र्ड प्रिमियरका लागि सिक्किम पुगेको छ।

सिक्किमपछि मे ३ मा सिलिगुडीमा यसको दोस्रो प्रिमियर हुने भएको छ। २ सय २५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा भएका यथार्थ घटनामा आधारित छ। साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्मले समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने निर्देशक लामाले बताए। ‘मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैँ झक्झक्याइ रहन्थ्यो।

नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ’ निर्देशक लामा भन्छन् ‘जारले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ।’ फेरि टेल पिक्चर्स, होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्मित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन रहेको छ। फिल्म नेपाल र भारतसहित
अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउनेछ।