सृजनशीलको जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम 

जलवायु परिवर्तनका एजेन्डा बुझ्न पाउँदा मक्ख भए सहभागी


काठमाडौँ। 

जलवायु परिवर्तन, महिलाका समस्या समाधान  तथा वातावरणीय समस्या समाधान लगायतको क्षेत्रमा क्रियाशील रहँदै आएको काठमाडौँको तारकेश्वर नगरपालिका –४  स्थित सृजनशील महिला समाजको आयोजना र तारकेश्वर नपा वडा नं ४ को सहयोगमा मंगलबार जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम कछुवा पार्टी प्यालेसमा सम्पन्न भयो । 

 तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तारकेश्वर नपा ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सबै पक्षको साझा अभियान जरुरी रहेको बताए । उनले सृजनशील महिला समाजले जलवायु परिवर्तन तथा वातावरणीय क्षेत्रको सुधारका लागि प्रभावकारी कार्य गरिरहेकोमा प्रशंसा गर्दै यस्ता कार्यमा वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 कार्यक्रममा बोल्दै वडा सदस्य विन्दु थापाले जलवायु परिवर्तनका कारण महिलाहरुले बढी समस्या भोग्नुपर्ने अवस्था आइरहेकाले वातावरणीय सुधारमा महिलाहरुले नै अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याइन् ।  । कार्यक्रमको अध्यक्षता गरेकी  सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीले जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीयतहबाट सक्रिय सहभागिता गराउन र आवश्यक जागरण पैदा गर्न तालिम  कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारिन । रेग्मीले जलवायु परिवर्तनका कारण मानवीय संकट र विपद आउन सक्ने भएकाले सबैजना सचेत भएर वातावरणीय सुधारको अभियानमा लाग्नुपर्ने र सोही उद्देश्यका साथ यो तालिम कार्यक्रमको आयोजना गरिएको बताइन् । सो तालिममा स्थानीय  महिला र पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो ।

 तालिममा  पीआरसीको सहजीकरण मार्फत आएका रुपान्तरण नेपालका प्रमुख कार्यकारी अधिकृत सोहनलाल श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।   प्रशिक्षक श्रेष्ठले जलवायु परिवर्तनको अवधारणा र विज्ञान, जलवायु परिवर्तनको असर, प्रभाव र अवसरहरु,जलवायु अनुकूलनका अवधारणा र उपायहरु तथा जलवायु परिवर्तन न्यूनीकरणको अवधारणा विषयमा गहन र विस्तृत प्रशिक्षण दिएका थिए ।

 कार्यक्रममा सहभागी भएका सबै जसोले तालिमबाट आफूहरुले जलवायु परिवर्तनका विभिन्न महत्त्वपूर्ण मुद्दाहरुका बारेमा जानकारी लिन सकेको र वातावरणीय सुधारमा लाग्न हुटुहुटी प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमका अवसरमा  ज्येष्ठ नागरिक समाजका डा वीरेन्द्र थपलिया, संस्थाकी रञ्जना शर्मा तथा प्रशिक्षक सोहनलाल श्रेष्ठले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र असरका बारेमा प्रकाश पारेका थिए  ।