स्टेजमा वाद्यवादकको एउटा समूहले बजाएको भायोलिन, चेलो, पियानो, तबला, बाँसुरीलगायतका वाद्य सामग्रीबाट निस्किएको पर्वतीय धुनले दर्शकदीर्घामा रहेका सबैको मन खिच्छ।
त्यत्तिकैमा हलको पछिल्तिर एउटा आकृति देखा पर्छ। याकको मस्कट पहिरिएका दुई कलाकार पर्वतीय धुनको तालसँग ताल मिलाउँदै स्टेजतर्फ लम्कन्छन्। त्यसपछि याक स्टेजमा उक्लन्छ र मायालु तरिकाले अर्केस्ट्राका निर्देशक डा. जोन शार्पसँग खेल्न खोज्छ। दर्शकले ठूलो स्वरमा हुटिङ गरेर ताली बजाउँदै रमाउँछन्।
शनिबार राजधानीको रसियन हाउसको हलमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको कार्यक्रमको अंश हो यो। स्प्रिङ कन्सर्ट टु नाम दिइएको एक घण्टा लामो अर्केस्ट्रा कन्सर्ट हेरेर दर्शकले खुबै आनन्द उठाए। कन्सर्टमा विभिन्न नेपाली देशभक्ति र सांस्कृतिक गीत प्रस्तुत गरिएको थियो भने सिंगापुरबाट आएकी अतिथि एमेलिया क्याङले हिलिङ साउण्ड बजाएकी थिइन्। अर्केस्ट्रामा गायक गायिका, नृत्य–कलाकार र वाद्यवादक गरी ३६ जनाको समूहले प्रस्तुति दिएको थियो।
कार्यक्रममा ट्युन्स अफ नेपाल नामक पुस्तक पनि लोकार्पण गरियो। पुस्तकमा राष्ट्रिय गीत सयौँ थुँगा फूलका हामीसहित विभिन्न २१ गीतहरूको मेलोडी सिट समावेश छ। यसले विदेशीलाई नेपाली गीतको धुन बजाउन मद्दत गर्दै नेपाली धुनलाई विश्वसामु चिनाउन सघाउ पु¥याउने अर्केस्ट्राका सचिव तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकारले बताए।











प्रतिक्रिया