काठमाडौं
वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपियाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपियाँ नाफा कमाएका थिए । नौ महिनाको अवधिमा ११ बैंकको नाफा बढ्दा ९ बैंकको नाफा घटेको देखिएको छ ।
गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा नेपाल बैंक लिमिटेडले गरेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपियाँ नाफा कमाएको सो बैंकले यस वर्ष सोही अवधिमा नाफा २ अर्ब ७८ करोड ३४ लाख रुपियाँ पु¥याएको छ, जुन २०३२.८० प्रतिशतले वृद्धि हो ।
नाफा वृद्धिको सूचीमा दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ, जसको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड पुगेको छ । तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ३७.१२ प्रतिशतले नाफा बढाउँदै ४ अर्ब ५३ करोड ४० लाख रुपियाँ आर्जन गरेको छ ।
एभरेष्ट बैंकले पनि ३ अर्ब नाफा पार गर्ने बैंकमा नाम जोड्न सफल भएको छ । सो बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । नाफा वृद्धिमा न्यूनतम वृद्धि देखिएको लक्ष्मी सन्राइज बैंकको नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको छ ।चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । सो बैंकले ५ अर्ब ५ करोड नाफा कमाएको छ, नबिलले अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ६६ करोड थियो । यस बैंकको नाफा ८.२१ प्रतिशतले वृद्धि भएको छ ।
अधिकांश बैंकहरुको नाफा बढ्दा केही बैंकको नाफा भने घटेको छ । विशेष गरी कुमारी, एनआईसी एशिया र हिमालयन बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाखमा सीमित भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्दै १५ करोड ६७ लाखमा पुगेको छ । हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोडमा झरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको २०.६० प्रतिशतले घटेर ९६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड, कृषि विकास बैंकको १०.१७ प्रतिशतले घटेर १ अर्ब ८५ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ११.१ प्रतिशतले घटेर २ अर्ब १७ करोड, सिद्धार्थ बैंकको ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड र प्राइम कमर्सियल बैंकको २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपियाँमा सीमिति भएको छ ।
विश्लेषकहरूका अनुसार कर्जाको गुणस्तर कमजोर हुँदै जानु र त्यसअनुसार प्रावधान बढाउनुपर्ने बाध्यताले बैंकहरूको नाफामा असर परेको हो । साथै, नेपाल राष्ट्र बैंकले लिएको लचिलो कर्जा नोक्सानी व्यवस्था नीति, विशेष गरी निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र तालिकीकरणको नीतिले पनि प्रत्यक्ष असर पारेको देखिन्छ।











प्रतिक्रिया