भूठानको पराई भूमि पीडा


पराई भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभावलाई विषय बनाई निर्माण गरिएको फिल्म भूठानको ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

तीन मिनेट लामो ट्रेलरमा भुटानबाट भारत र नेपाल हुँदै अमेरिका पुगेका भुटानी शरणार्थीको कथा प्रस्तुत गरिएको छ। वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तराद्र्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देखाइएको छ। जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराई भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस ट्रेलरमा पोखिएको छ।
अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नाम दिइएको फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य छन्।

हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा आर लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतका कलाकारका साथमा हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेको फिल्म हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको पहिलो त्यो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन्।

अगामी १२ गते रिलिज हुने फिल्म बुलबुलबाट नाम कमाएका विनोद पौडेलले निर्देशन गरेका छन्। अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटाद्वारा निर्मित फिल्ममा समवरण केमको संगीत, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन, सुसन प्रजापतिको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ। फिल्म्मा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।