कुनै पनि क्षेत्रको विकास निर्माण कार्यलाई दीर्घकालीन सोचाइका साथ योजनाबद्ध ढंगले कार्यान्वयन गर्दा मात्र त्यस क्षेत्रको विकासमा दिगोपना रहन्छ ।
यसै परिप्रेक्ष्यमा कीर्तिपुर नगरको विद्यमान पूूर्वाधार तथा पर्यटकीय उपजहरुको समग्र वस्तुस्थितिको अध्ययन, विश्लेषणका आधारमा यस क्षेत्रलाई उपत्यकाकै महत्वपूर्ण र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन सकिन्छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने बलियो सम्भावना रहेको तथ्यगत स्थिति र विषयवस्तु यहाँ प्रस्तुत गरिएको छ ।
पृष्ठभूमि:
प्राकृतिक स्रोत र साधनको दृष्टिले मात्र हैन धार्मिक, सांस्कृतिक सम्पदाका हिसाबले समेत नेपाल धनी रहेको छ । वास्तवमा नेपालमा बाह्य पर्यटनको मूल आकर्षण, साहसिक (सगरमाथा, हिमाल÷प्रकृति) सम्पदा र शान्तिका अग्रदूत गौतम बुद्धलाई लिने गरिन्छ ।
कीर्तिपुर नगरपालिकाअन्तर्गतको यस क्षेत्रमा ती विषयसँग सम्बन्धित सम्पदा एवं उपजहरुका अलावा थप प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुसमेतको अवस्थितिले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुका आँखामा एक विषेश आकर्षक केन्द्रको रुपमा स्थापित हुने क्रममा रहेको छ । पर्याप्त ठूला तथा व्यावसायिक होटेल एवं लजहरु नरहेको यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि समेत लक्षित गरी नयाँ होटेल, लज तथा थप सामुदायिक होम स्टेको प्रबन्ध मिलाउन सकेमा यस क्षेत्रको समग्र पर्यटकीय प्रवद्र्धन एवं विकासका लागि कोसेढुंगा साबित हुनेछ ।
परिचय:
२०५३ साल चैत्र १४ गते तत्कालीन आठ गा.वि.स. मिलेर १९ वटा वडा, हाल १० वटा वडामा विभक्त भई स्थापना भएको कीर्तिपुर नगरपालिका देशकै राजधानी शहर काठमाडौंको केन्द्रबाट करिब ६ कि.मि. दक्षिण–पश्चिम दिशामा समुद्री सतहबाट १,२८४ देखि १,५१२ मि.को उचाइमा अवस्थित रही १४.७६ व.कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
नेवार समुदायको बाहुल्यता रहेको यस नगरमा कीर्तिपुर, पाँगा, चम्पादेवी, चोभार क्षेत्रका पुरातात्विक, सांस्कृतिक तथा धार्मिक सम्पदाका कारणले मात्र हैन, यस क्षेत्रमा जो–कोहीले महसुस गर्न सक्ने पृथक प्राकृतिक तथा सामाजिक वातावरणका कारण पनि परिचित छ । त्यसमा अझ काठमाडौं उपत्यकाको उत्पत्तिको प्राचीन इतिहाससँग प्रत्यक्षरुपमा सम्बन्धित चोभारको मञ्जुश्री गल्छी, त्यही गल्छीमा अवस्थित दक्षिण एसियाकै लामो मञ्जुश्री गुफा र त्यही गुफासँगै संसारकै अग्लो ढुंगाको मञ्जुश्रीको प्रतिमा तथा पार्कले आकर्षण थपेको छ ।
यहाँका प्राचीन, धार्मिक तथा ऐतिहासिक धरोहरहरु प्रसिद्ध बाघभैरव, उमामहेश्वर, चिलन्चो, आदिनाथ मन्दिर, जलविनायक मन्दिर, विष्णुदेवी, बालकुमारी, टौदह, चम्पादेवी यस क्षेत्रकै गौरव तथा काष्ठकला, वास्तुकलाको उत्कृष्ट नमुनाका रुपमा रहिआएको छ । काठमाडौं उपत्यकाको उत्पत्तिसँगै गाँसिएको चोभारको गल्छी, ऐतिहासिक पोखरी टौदह, सिंगो काठमाडौंको मनोरम दृश्य अवलोकन गर्न सकिने चम्पादेवी, चन्द्रागिरि डाँडा, चोभार डाँडा अनि सगरमाथासहितका हिमशृङ्खला आदि सबै प्राकृतिक सुन्दरताका पर्याय हुन् । नेवार बस्तीहरुमा रहेका चैत्यहरु (चिबहाः), परम्परागत सुलक्षण कीर्ति विहार तथा महाबोधी धर्म विकास दीप गुम्बा यस क्षेत्रका थप आकर्षक थलो हुन् ।
यहाँ मनाइने जात्रा–पर्वहरुमा सात गाउँले जात्रा, प्रत्येक वर्ष कार्तिक महिनामा लाग्ने आदीनाथ तथा जल विनायकको एक महिना लामो मेला, कृष्णजात्रा, नेपाल संवत् नयाँ वर्ष, बुद्ध जयन्ती, गाईजात्रा, दशैं, तिहार, वैशाख १ गतेका दिन लाग्ने चम्पादेवी मेला, नखु मेला, तीज, जनै पूर्णिमा, फागू पूर्णिमामा मनाइने होली पर्व आदिलगायत यहाँका बासिन्दाहरुका परम्परागत रहनसहन, संस्कृति, जीवन शैलीले पर्यटकीय क्षेत्रको महत्व दर्शाउनमा थप टेवा पु¥याएको छ ।
साथै लहना, सःस, जात्रा, जोशी नःनि, माक्वचा गार्डेनजस्ता सामुदायिक, परम्परागत रेस्टुरेन्ट स्थापना तथा सञ्चालनका लागि आधारभूमिसमेत तयार गरिदिएको छ, जसका कारण कीर्तिपुर नगरको पर्यटन विकासका क्षेत्रमा एक नयाँ पहिचान थप हुँदै गएको छ ।
त्रिभुवन विश्वविद्यालयसहित यस क्षेत्रमा रहेका कजेज तथा विद्यालयले यस क्षेत्रको शैक्षिक विकास तथा शैक्षिकसँगै समग्र पर्यटन विकास र प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ । त्यस्तै गरी कीर्तिपुर क्रिकेट रंगशाला, खोखोसहितको बहुउद्देश्यीय कबर्ड हलले खेल–पर्यटनको विकासको सम्भावनालाई बढावा दिएको छ ।
ऐतिहासिक स्थल:
१. उपत्यकाको उत्पत्तिको जिउँदो इतिहास मञ्जुश्री गल्छी: परापूर्वकालमा विभिन्न क्षेत्रको भ्रमणको सिलसिलामा चिनियाँ बौद्धमार्गी तीर्थयात्री मञ्जुश्री यस उपत्यकामा आइपुगेका थिए । उपत्यकाको होचो भाग चोभारमा आई उनले आफ्नो योगबलले खड्गले डाँडालाई छेदन गरे । कालीदहको नामले चिनिने विशाल दहको पानी बाहिर पठाएर काठमाडौं उपत्यकाको उत्पत्तिसँगै मानवबस्ती बसाउने सभ्यताको शुरुवात भएको तथ्य इतिहासमा उल्लेख पाइन्छ । चोभारको यही स्थानमा समूहले मञ्जुश्री प्रतिमासहितको पार्क निर्माणको कामलाई अगाडि बढाइरहेको छ ।
२. ऐतिहासिक धरोहरहरुले भरिपूर्ण नगर ः प्राचीन काष्ठकलाले भरिपूर्ण प्यागोडा शैलीका मन्दिरहरु र सोमा जडान गरिएका काठका कलात्मक टुँडाल, त्यस्तै शिखर शैलीका मन्दिरहरुलगायत विभिन्न चैत्य, विहार, गुम्बा आदि र त्यससँग जोडिएका अभौतिक सम्पदा एवं संस्कृतिले यस नगरक्षेत्र भरिपूर्ण रहेको छ ।
३. १९९० सालको भूकम्पले समेत कुनै घर नभत्केको ठाउँ ः कीर्तिपुर तथा चोभार डाँडाको मजबुत भू–बनावट र तत्कालीन उच्च कौशलीय प्रविधमा निर्माण भएका कारण १९९० को महाभूकम्पमा समेत कुनै मन्दिर तथा घर नभत्केको भन्ने कुरा हाल यस क्षेत्रका पुराना बस्तीहरुमा वि.सं. १९९० सालभन्दा पहिले निर्मित घरहरुले छर्लंग पार्दछ ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष:
१. नेवार जातिको जीवन्त सङ्ग्रहालय: कुल जनसंख्याका आधारमा नेवार जातिको बाहुल्यता भएका कारण उनीहरुको दैनिक जीवनयापनको सिलसिलमा अपनाइने विभिन्न संस्कार, चालचलन, रीतिरिवाज, परम्परा आदिको समग्र क्रियाकलापले गर्दा जीवन्त सङ्ग्रहालयका रुपमा रहेको छ कीर्तिपुर ।
२. धार्मिक र सांस्कृतिक धरोहरले भरिपूर्ण स्थल ः हिन्दू, बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेका उपत्यका शहरकै विभिन्न देवी–देवताहरुका मन्दिर, बौद्ध विहार, चैत्य आदि सम्पदा तथा धरोहरहरुले भरिपूर्ण रहेको छ ।
३. परम्परागत मेला, चाडपर्व तथा उत्सवको केन्द्र: विभिन्न देवी–देवताको उपासना, व्रत, जात्रा, मेला, पर्व र विभिन्न उत्सव-महोत्सव आदिको प्रमुख थलोका रुपमा कीर्तिपुर रहेको छ ।
४. जातीय विविधताको लागि परिचित थलो: कीर्तिपुर क्षेत्रमा नेवार जातिको बाहुल्यता रहेको, त्यसमा पनि नेवार जातिभित्र जातीय तहगत विभाजन (जात-उपजात) सँगै आफ्नै मौलिक संस्कारका साथै आसपासका क्षेत्रहरुमा ब्राह्मण, क्षत्री, तामाङ, मगर, गुरुङ, मधेसी, अन्य विभिन्न जनजाति तथा दलित जातिहरुको पनि उल्लेखनीय बसोबासका कारण जातीय विधिता रहेको छ ।
५. सङ्ग्रहालय: बी.पी. प्लानेटेरियम जस्ता सङ्ग्रहालय एवं ध्यान–योग केन्द्रहरु पनि यहाँ छन् ।
प्राकृतिक विविधता:
१. भौगोलिक तथा प्राकृतिक विविधताको थलो : कुल क्षेत्रफलको एक चौथाइभन्दा बढी क्षेत्र जंगलले ढाकेको कारण यो स्थान शान्त छ । विविध किसिमका बोटबिरुवा रहेको, थप बिरुवाहरु रोप्ने, हुर्काउने कार्य जारी रहेको, भूबनावट पनि आकर्षक किसिमको रहेको कारण कीर्तिपुरलाई आकर्षक थलोका रुपमा लिइन्छ ।
२. उपत्यकाको एक ठूलो तथा रमाइलो पिकनिक स्पट: चम्पादेवी, टौदह क्षेत्र, जलविनायक तथा आदीनाथ सामुदायिक वनको क्षेत्रमा विभिन्न सभा–सम्मेलन, कार्यक्रमहरु गर्ने स्थल तथा रमाइलो पिकनिक स्पटका रुपमा विकास भइरहेको छ ।
३. प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र : मनोरम, जैविक विविधताले भरिपूर्ण जंगल तथा शान्त र स्वच्छ वातावरण अनि काठमाडौंको सबभन्दा ठूलो प्राकृतिक पोखरी टौदह, मञ्जुश्री गल्छी र उपत्यकाको सभ्यताको प्रतीक बागमती नदी कीर्तिपुरका प्रमुख प्राकृतिक सम्पदाहरु हुन् ।
४. दक्षिण एसियाकै एक महत्वपूर्ण केभिङ स्पट: साहसिक गुफा भ्रमणको एकमात्र गन्तव्य मञ्जुश्री गुफासमेत यस नगरक्षेत्रमा रहेको छ । यस गुफाको लम्बाइ १,२५० मिटर रहेको छ । एक–आपसमा जोडिएका धेरैवटा प्रवेश मार्ग रहेको, गुफाभित्र रोमाञ्चक तथा साहसिक यात्राको बेग्लै अनुभूति गर्न सकिने यस गुफाको भ्रमणका लागि आवश्यक व्यवस्थापन जलविनायक सामुदायिक वन उपभोक्ता समूहमार्फत हुँदै आएको छ ।
५. रोमाञ्चक माउन्टेन बाइकिङ तथा साइक्लिङ थलो: अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइकिङ तथा साइक्लिङ थलो चोभार यसै नगरपालिकामा रहेको छ । यसै क्षेत्रमा हालै सम्पन्न चौधौँ एसियाली माउन्टेन बाइक च्याम्पियनसिप तथा पटक–पटक सञ्चालन गरिएको राष्ट्रिय च्याम्पियनसिपले गर्दा विश्व च्याम्पियनसिपका लागि समेत ढोका खोलेको छ । हुपी ल्यान्डलगायतका निजी क्षेत्रबाट सञ्चालित विभिन्न खेल तथा साहसिक गतिविधि, विभिन्न स्तरीय रेस्टुराँ तथा अन्य पर्यटकीय आकर्षणका पूर्वाधारहरुका कारणसमेत नगरको छवि बदलिँदो छ ।
विविध पक्ष:
१. परम्परागत तथा आधुनिक कृषि उत्पादन अध्ययन तथा अवलोकन थलो हो कीर्तिपुर । देशकै अत्याधुनिक कृषि प्रविधिको केन्द्र बागबानी तथा परम्परागत, जैविक कृषि प्रणालीसँग गाँसिएको जीवन्त थलोसमेत यस नगरभित्र रहेको छ ।
२. नेपालकै पहिलो र ठूलो विश्वविद्यालय रहेको क्षेत्र हो कीर्तिपुर । देश तथा विदेशका हजारौं विद्यार्थीको उच्च शिक्षा अध्ययनको केन्द्रविन्दु त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको छ ।
३. नेपालकै पहिलो सिमेन्ट उद्योग रहेको क्षेत्र हो कीर्तिपुर । नेपाल सरकारको निर्णयबाट बन्द भई स्थानीय स्तरमा नेपालको पहिलो औद्योगिक सङ्ग्रहालयको रुपमा विकास गर्न माग भइरहेको नेपालकै पहिलो सिमेन्ट उद्योगसमेत कीर्तिपुर क्षेत्रमा रहेको छ ।
४. नेपाली चलचित्र उद्योगको महत्वपूर्ण सुटिङ थलो हो कीर्तिपुर । अधिकांश नेपाली फिल्महरुको सुटिङ यस क्षेत्रका खास–खास स्थनाहरुमा हुने गरेका पाइन्छ ।
५. सङ्ग्रहालयहरुको नगर कीर्तिपुर हो कीर्तिपुर । जातीय सङ्ग्रहालय, प्राकृतिक सङ्ग्रहालय, अरनिको आर्ट ग्यालरी, निर्माणाधीन प्लानेटरियम आदि यस क्षेत्रका थप विशेष आकर्षणका केन्द्र हुन् ।
६. खेलकुदको नगरी हो कीर्तिपुर । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम, खोखोसहितको बहुउद्देश्यीय हल, प्रस्तावित थप स्टेडियमसमेत कीर्तिपुरको पर्यटन विकासका लागि थप आकर्षण हुन् ।
सम्भावित नयाँ पर्यटकीय उपज:
१. बन्जी जम्पसहित साहसिक खेलको थलो हो कीर्तिपुर ।
२. रक क्लाइम्बिङ थलो हो कीर्तिपुर ।
३. हाइकिङ तथा ट्रेकिङ रुटको शुरुवात तथा अन्त्य गर्ने स्थान हो कीर्तिपुर ।
४. सगरमाथा अध्ययन तथा दृश्यावलोकन केन्द्र हो कीर्तिपुर ।
५. उपत्यकाको एकमात्र फिसिङ तथा बोटिङ स्पट हो कीर्तिपुर ।
६. पारा ग्लाइडिङ गर्ने थलो हो कीर्तिपुर ।
७. उपत्यकाको ग्रामीण पर्यटनको एकमात्र उर्वर भूमि हो कीर्तिपुर ।
अब युनेस्को, नेपाल सरकार, बागमती प्रदेश सरकारसँग समन्वय गरी समुदाय तथा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ । विभिन्न पर्यटन मैत्री व्यावसायिक तथा प्रवद्र्धनात्मक गतिविधिहरु सञ्चालन गर्नुपर्छ । कीर्तिपुर नगरपालिकाका तर्फबाट यस क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदा एवं साहसिक पर्यटन विकासको राष्ट्रिय लक्ष्य परिपूर्तिका लागि स्थानीय जनताको सामाजिक तथा आर्थिक विकासलाई मूल लक्ष्य बनाएर कीर्तिपुर नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी अगाडि बढ्न अत्यावश्यक छ ।
उपलव्ध पर्यटकीय उपजहरुको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमण र बसाइको अवधि लम्ब्याउने उपाय गरिनुपर्छ । नगरपालिकाबाट पर्यटक सेवा तथा सूचना केन्द्रको प्रभावकारी व्यवस्थापन र सञ्चालन हुनुपर्छ । साथै नगरपालिकाले व्यवसायीसँग पर्याप्त समन्वय गरी थप व्यवस्थित होम स्टे, होटेल, लज निर्माण तथा सञ्चालन गर्दै पर्यटन विकाससम्बन्धी योजना अनुरुप अगाडि बढ्न सकेमा नेपालकै समग्र पर्यटन विकासमा टेवा पुग्नेछ ।
(लेखक महर्जन अधिवक्ता एवं कीर्तिपुर न.पा.का सहकारी तथा सामाजिक विकास शाखा प्रमुख हुनुहुन्छ ।)
प्रतिक्रिया