वर्ष २०८१ मा सम्मान र अवार्डका थुप्रै कार्यक्रम भए। त्यसमध्ये केही अवार्ड र सम्मान कार्यक्रमका बारेमा यसै पृष्ठको अघिल्लो अंकमा प्रकाशित भइसकेको छ। ती बाहेक भएका थिए यी कार्यक्रमः
असारको दोस्रो साता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधा दर्जन कलाकर्मीलाई सम्मान ग¥यो। आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरेको हो। सो अवसरमा रंगमञ्च विधाबाट ख्यातिप्राप्त रंगकर्मी हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट संगीतज्ञ चन्दनकुमार श्रेष्ठ र लोक संगीत विधाबाट लोकगायक बमबहादुर कार्कीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरिएको हो। त्यसै गरी, संगीत विधाबाट ख्यातिप्राप्त गायिका तारा थापा, नाटक विधाबाट नाटककार गोपाल देवान र नृत्य विधाबाट नृत्य निर्देशक जोगेन्द्र केसीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरिएको थियो। कलाकर्मीहरूलाई सम्मानका साथ जनही १ लाख एक रुपियाँ नगद प्रदान गरिएको थियो।
असार तेस्रो साता विभिन्न ३४ विधामा अवार्ड प्रदान गर्दै दोस्रो डाइमन्ड म्युजिक अर्वाड–२०८१ राजधानीमा सम्पन्न भयो। पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकप्रिय लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेको कार्यक्रममा गीत–संगीतका विभिन्न विधामा अवार्ड प्रदान गरियो।
साउनको शुरुमा गीतकार रमोलादेवी शाह छिन्नलताको १०२औं जन्मजयन्तीको अवसरमा छिन्नलता गीत पुरस्कार गुठीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पु¥याउने सर्जक तथा कलाकारलाई पुरस्कार प्रदान गरेको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कारबाट गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कृत गरे। त्यसै गरी, २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए। छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशी जनही १ लाख रुपियाँ तथा युवा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको थियो।
ख्यातिप्राप्त अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले गुरुपूर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरी गीत–संगीत, अभिनय र नृत्यका आफ्ना गुरुहरूलाई गुरुदक्षिणा चढाउन उनीहरूका नाममा पुरस्कार स्थापना गरेर कलाकर्मीलाई अर्पण गरिन्। कार्यक्रममा संगीत साधक स्व. गोपाल योञ्जनको नाममा स्थापना गरेको गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई, फिल्म लेखक, निर्देशक तथा गीतकार स्व. चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीति वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई, हास्य जोडी स्व. राजपाल थापा र स्व. ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एन्ड पाल हास्य वाङ्मय पुरस्कार हास्य व्यंग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको थियो।
प्रतिक्रिया