हराएको मौनता भेट्ने बाटो: कर्णालीको पदयात्रा

10.9k
Shares

कहिलेकाहीँ लाग्थ्यो—भीड, दौडधुप, लक्ष्य र जिम्मेवारीको घेराभित्र हामी जीवनका साँचो अर्थहरू बिर्सिँदै त छैनौँ? यही सोचले हामीलाई जीवनसँगको पुनः सम्बन्ध गाँस्ने प्रेरणा दियो, अनि हामी निस्कियौँ एक विशेष यात्रामा—जुम्लादेखि रारा हुँदै सिञ्जा उपत्यका, फेरि जुम्ला  एउटा  आतभुद पदयात्रा ।

 जसरी संगीतमा मौनता पनि लयको अनिवार्य हिस्सा हुन्छ, जीवनमा पनि यस्ता यात्राहरू आत्मासँगको संवाद बन्न पुग्दछन्। यो पदयात्रा केवल गन्तव्यसम्मको भौगोलिक यात्रा थिएन—यो त आत्मा, समाज, भूगोल र समयसँगको अन्तरङ्ग संवाद थियो।

 जुम्लामा हाम्रो स्वागत गर्न आइपुग्नुभयो कीर्तिमानी अल्ट्रा धावक हरिबहादुर रोकाया—गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका, तर राज्यले अपेक्षाकृत चासो नदिएको एक अद्भुत प्रतिभा। हाम्रो टोलीको समन्वय भने टोली नेता राजाराम सरले गर्नुभएको थियो, जसले हाम्रो यात्रालाई थप व्यवस्थित र प्रेरणादायी बनाउनु भयो।

 चन्दननाथ मन्दिरमा माथा टेक्दै सुरु भएको हाम्रो यात्रा डाँफे लेक, गुची लेक, रारा ताल, मुर्मा टप, चुच्चेमारा हिल, सिञ्जा उपत्यका हुँदै जालजला लेख पार गरेर १४५ किलोमिटर लामो कठिन पदयात्रामा परिणत भयो। आठ दिनको यो यात्रा केवल शारीरिक क्षमताको परीक्षा थिएन—यो इच्छाशक्ति, धैर्य र जीवनदृष्टिको पुनः परिभाषा पनि थियो।

   राराको किनारमा उभिँदा लाग्यो—सुन्दरता गन्तव्य होइन, त्यो त आत्माको शान्ति हो। तर त्यो शान्तिको वरिपरि रहेका गाउँहरूमा भने गरिबी, अभाव, अवसरको अभाव, र परनिर्भरताको पीडा स्पष्ट देखिन्थ्यो।

    “सडक आयो, विकास आयो भन्थे तर हाम्रो जीवन उस्तै छ। नेताहरूले झन्डा चिनाए, चुनाव चिन्ह चिनाए तर हाम्रो पीडा बुझेनन्,”—भेडा चराउँदै गरेका एक बृद्धको कथनले हाम्रो मन छोयो।

  युरोपका स्की रिसोर्ट जत्तिकै, डाँफे लेकजस्तो सुन्दर ठाउँमा, बालबालिकाहरू भेडा चराउँदै भेटिए। ती साना अनुहारमा कठोर जीवनका कथा थिए, तर मुस्कान पनि थियो। हामीले चकलेट बाँड्यौं, उनीहरूले खुसी बाँडे। त्यही उमेरका हाम्रा सन्तान शहरमा गेम खेलिरहेका होलान्, तर यी बालबालिका प्रकृतिसँग जुध्दै जीवन बाँचिरहेका थिए। एउटै सूर्य तर कति फरक ताप!

   सिञ्जा उपत्यकाले इतिहासको पाना पल्टायो—बिर्सिँदै गएको संस्कृतिको सम्झना गरायो। तेल गाडी र चैन गाडीको फरक सुनायो—गाडी मात्रै होइन, त्यससँगै भित्रिएको विकास पनि देखायो। तर, त्यहीँ  विकाससँगै आएको विनाश पनि उनीहरूकै मुखबाट सुनियो। हराउँदै गएको जुहारीको पीडा बुझायो, अनि भित्रिएको दशैंको स्वरुप सुनायो। कति गहिरो र फरक छ कर्णाली, त्यो अनुभव गरियो।तर, त्यो सँगसँगै देखायो आजको असमानता, अवसरको अभाव, र राज्यले परित्याग गरेका जनताको वास्तविकता। विकाससँगै भित्रिएको विनाशको कथा पनि त्यहाँका जनताले सुनाए।

   नागराजका फाँटहरू हरियो जौको कार्पेट बिछ्याएर स्वागत गर्दै थिए, तर चिन्ता थियो—अब यहाँ पनि कङ्क्रिटको जङ्गल आउँदैछ। बाटो बनाउनेहरू माटो नचिन्ने भए, भन्ने चिन्ता आचार्य बाले सुनाउनुभयो।

“शिरमा हिमाल, छातीमा पहाड, काखमा तराई बोकेको कर्णाली अझै पनि सुकेको, भोकाएको र हेपिएको छ”—यो भनाइ अनुभवमा रूपान्तरण हुँदै गयो।
  थाकेका पाइला, तर उत्साहित मन लिएर हामी कनकासुन्दरी मन्दिरतर्फ लाग्यौं। समयको कमीले सबै पर्यटकीय स्थल हेर्न सकिएन, तर जुन देख्यौं, त्यसले मन छुन सफल भयो। जालजला पास पार गर्ने हाम्रो समयको आँकलन चुक्यो, साँझ ४ बज्दा पनि पाँच घण्टाको बाटो बाँकी थियो। थाकेका हामी, तर आत्मबलले अघि बढायो-अन्ततः हामी एक जिप पाएर रातपख खलङ्गा पुग्यौं।

  यात्रामा भेटिएका साथीहरूको साथ, नयाँ अनुहारहरूको आत्मीयता, साँझको हाँसो—यी सबैले जीवनलाई पुनः प्रेरित बनाए। कठिनाइका ती क्षणहरूले हामीलाई अझ बलियो बनाए। अङ्ग्रेजीमा एउटा भनाइ छ:   ह्वाट डजन्टस् किल्स यु मेक्स यु स्ट्रोङ्ग

  यो यात्रा केवल यात्रा  मात्र रहेन —यो एउटा गहिरो बुझाई रह्यो । हामीले भूगोल मात्र होइन, राज्यको चरित्र, विकासको विडम्बना र त्यहाका मानिसका  आशा र उत्साह बुझ्यौ।  फर्किंदा हामी थाकेका थियौं।तर, आत्मा प्रज्वलित थियो, मन शुद्ध।
  सायद, मैले यो यात्रामा आफैंलाई भेटेँ। त्यसैले होला हिजो कार्यालय पुगेपछि साथीहरूले भने, तिमी फरक देखिन्छौ।  केवल बाहिरी रूपले होइन भित्री अनुभूतिमा पनि फरक महसुस भएको छ।

कतै पढेको थिए -८८“जसले यात्रामा आफैंलाई भेट्छ, उसले संसारलाई नयाँ नजरले हेर्न थाल्छ।”८८
यो अविस्मरणीय यात्रामा हाम्रो साथ दिँदै कर्णालीको भूगोल चिनाउने खेलाडी भाइहरू विन्दास सीआर र शेर बुडालाई हार्दिक धन्यवाद र आत्मीय सम्झना। यस यात्राको समन्वय गरी सबैलाई एकतामा बाँध्न सफल हाम्रो टोली नेता  राजाराम फुयाँल  सरलाई नमन।
 ह्याप्पी हाइकर्सका सम्पूर्ण सदस्यहरूलाई नयाँ वर्ष २०८२ को शुभकामना! आशा छ, आगामी यात्रामा पुनः भेट हुनेछ।