नेताहरू सचिच्ने कि सकिने ?

376
Shares

१०४ बर्से निरंकुश राणा शासनले अँध्यारोमा पिल्सिएका र निर्दलीय पञ्चायती व्यवस्थाले थिचिएका नेपाली जनताले १० बर्से जनयुद्धको विश्रामपछिका दिनमा हासिल गरेका केही उपलब्धिहरु फेरि पुरानै चिहानमा पुरिने अवस्था सिर्जना हुँदै छ ।

यस्तो विषम अवस्था हाम्रा गणतन्त्रे नेताका अक्षमताका कारण, घमण्डका कारण, आफूलाई भगवानभन्दा पनि माथिको दर्जामा राखेर हेर्ने दृष्टिभ्रमका कारण मन नलागेरै पनि राजा आऊ, देश बचाऊको नारा लगाउन एउटा विवशता आइलागेको छ नेपाली जनतामा । राजतन्त्रको शासनकाल भोग्नेहरूको मानसिकतामा यो घटनाले निकै त्रास थपेको छ । संसारमै उत्कृष्ट शासन व्यवस्था भनेर मानिने लोकतान्त्रिक वा गणतान्त्रिक व्यवस्थालाई सञ्चालन गर्ने हाम्रा अक्षम नेतृत्वका कारण गणतन्त्रका उपलब्धिहरु गुम्ने खतरा दैनिकरुपमा बढ्दै छ ।

राणा शासन सही थियो भने त्यति धेरै जनताले बलिदानी दिएर प्रजातन्त्रको स्थापना किन गर्नुपरेको थियो ? एक दलीय पञ्चायती व्यवस्था नै ठीक थियो भने २०४५–०४६को जनआन्दोलन र सामान्य भए पनि प्रजातन्त्रको स्थापना गरिनु के जरुरी थियो ? २०४७ को संविधानलाई हाम्रा नेताहरुले संसारको सबैभन्दा उत्कृष्ट संविधान भनेर बढाचढाइ गरेका थिए, तर त्यसले पनि आम नेपाली जनताका भावनालाई सहीरुपमा सम्बोधन गरेर कामयावी बनाउन नसकेकै कारण २०५२ सालदेखि १०बर्से युद्धको औपचारिक शुरुवात गर्नुपरेको थियो होला ।

त्यस्ता संसारकै उत्कृष्ट संविधानलाई कामयावी बनाउने कि केवल कागजको खोस्टो बनाउने ? भन्ने दायित्व नेतृत्व लिने शासकको हो कि होइन ? नालीमा मिल्काइएको भनिएको राजतन्त्रले टाउको उठाएर गणतन्त्रेहरूको होसहवास गुम गराउनुपर्ने वातावरण नेपाली जनताका कारण सिर्जना भएको होइन ।

आज हाम्रा गणतन्त्रका शासकहरू गरी खानु न मरी जानुको दोसाँधको बाटोमा छन् । त्यही पुरानो र आधुनिक समयमा कति पनि काम नलाग्ने दृष्टिकोण लिएर शासनलाई सफल बनाउने प्रतिबद्धता पटक–पटक उनीहरूले जाहेर गरिरहेका छन् । तर आम जनताले उनीहरुका ती प्रतिज्ञालाई हावा गफको संज्ञा दिइरहेका छन् । मानौँ उनीहरु बर्तन सकिएर निभ्नै लागेको बत्तीको धिपधिपे उज्यालोमा रमाइरहेका छन् । विगतमा उनीहरुले शासन चलाउने क्रममा धेरै थरीका अक्षम्य अपराध गरेरै आएका हुन् । जनताको भोटको लिस्नो बनाएर माथि पुगेका नेताहरुले लिस्नो बनिदिने जनताको गुनलाई चटक्कै बिर्से ।

जनताको मतलाई बेमतलवका साथ नफरत गर्दै आफ्नै शैलीमा जनतामाथि निरंकुश शासनको डन्डा बजार्न खोज्दै छन् मात्र होइन, बजार्दै पनि छन् । अजेय शक्तिको पुञ्ज जनतालाई धराशायी बनाएका घटनाहरुका बारेमा केही थाहा नपाएजस्तो गरेर असफल शासनमै रमाउन उद्यत् रहेका छन् नेताहरु । यही असफल शासनका कारण देशको आर्थिक उन्नति दैनिकरुपमा घट्दै जाँदै छ । वैदेशिक आर्थिक सहयोगको क्रम पनि शासकका दुष्कर्मका कारण खुम्चिँदै गएको छ । सरकारले आफ्ना कर्मचारीलाई पारिश्रमिक दिन सक्ने सहज अवस्था छैन । पारिश्रमिक नपाउँदा उनीहरुको मानसिक असन्तुष्टिका कारण आफ्ना कर्तव्य पालना गर्न पनि असमर्थ भइरहेका छन् ।

यसरी वर्तमानको नेपालको शासन सत्ता संकटको भुमरीमा फस्दै जान थालेको छ । गणतान्त्रिक शासन असफल हुँदै जान थालेपछिका दिनमा राजतन्त्र पनि सक्रिय हुन थालेका कारण दुवैका बीचमा टकरावको अवस्था सिर्जना हुँदै छ । एउटै म्यानमा दुई तरबार नअट्ने भएजस्तै गणतान्त्रिक शासन व्यवस्था कायम रहेको अवस्थामा धराशायी भइसकेको राजतन्त्र पुनःस्थापना गराउने रहर शायदै कसैलाई होला । यसरी हरेकतिरबाट असफल भएको गणतान्त्रिक सरकारका सामु हाल दुईवटा विकल्प रहेका छन् । जसमध्ये पहिलो र सकारात्मक विकल्प भनेको सच्चिनु हो ।

दुई वा बढी पटक शासक बनेर एउटा सार्वभौमसत्ता सम्पन्न देशको शासन चलाउने क्रममा आफूबाट के–कस्ता गलत कर्म भए होलान् भनेर समीक्षा गर्नु र विगतमा गरेका गलत हर्कत नदोहो¥यएर सिर्जनात्मक शासनको बाटोमा पाइला चाल्न सक्नु पहिलो र सकारात्मक विकल्प हो । आम नेपाली जनताले चाहेको विकल्प पनि यही हो । तर हाम्रा शासककले जनताका कुरा मानेर तदनुसारको शासन चलाउने हिम्मत न त विगतको कालखण्डमा गर्न सके, न त वर्तमानको यो संकटको कालखण्डमा गर्न सक्लाने भनेर विश्वास गर्न सकिने अवस्था एकथोपो पनि छैन ।

यदि सच्चिएर जाने विकल्प रोज्ने हो भने आम नेपाली जनताका गुनासा सुनेर मात्रै भएन, तिनलाई मनन गरेर मार्गदर्शनको रुपमा लिँदै निर्लोभी बन्न सकेको खण्डमा तै सफलता हात पार्न सकिएला कि भन्ने आशा राख्न सकिन सकिन्छ । तर हाम्रा शासकलाई उनीभित्रको चुलिएको घमण्डले गर्दा उनको हृदयमा यतिका कुरा फुर्न सकेका हुँदैनन् । अरुभन्दा म आफैँ ठीक वा सही मान्छे भन्ने घमण्डले भरिएको मान्छेले यस्ता कुराको आत्मसात् गर्न सकेको हुँदैन । त्यसैले वर्तमानका हाम्रा शासक केपी विगतका कुकर्मबाट पाठ सिकेर सच्चिने बाटोमा आउन सक्लान् भन्ने विश्वास एकथोपो पनि गर्ने ठाउँ रहँदैन । हाम्रा शासकका लागि दोस्रो विकल्प भनेको सकिएर जाने विकल्प हो । पटक–पटक शासक बन्दा पनि असफल हुने शासकलाई सत्ताको कुर्सीमा टाँसिइरहने कुनै अधिकार छैन । यसको साटो आत्मसमीक्षा गरेर सकिनुको विकल्प रहँदैन । यसको मतलव शासकमात्र सकिएर पतन हुनु होइन कि शासकसँगै व्यवस्था पनि असफल भयो भनेर आफल्नुको विकल्प रहँदैन । असफल शासक र असफल शासन व्यवस्था जबरजस्तरुपमा जतिन्जेल टिकाउन खोजिन्छ त्यतिन्जेल नै देश र जनताले अथाह पीडाका क्षणहरु भोगिरहनुपर्ने हुन्छ ।

वर्तमानको केपी ओलीको शासन सत्ताको यो घडीमा देशको समग्र अर्थतन्त्र टाट पल्टेर जाने अवस्थाको डिलैमा पुगेको छ । आफ्ना कर्मचारीलाई महिनौँको तलब खुवाउन नसकेर वैदेशिक ऋण काढी हरेक नेपाली जनताको टाउकोमा ऋणको भार थोपरिएर चरमचुलीमा पुग्दै छ । शासक ओलीले गरेका कुकर्महरुको तीव्र आलोचना गर्दै जनस्तरबाट उनलाई कालो झन्डा देखाउने, भौतिक कार्यवाही गर्ने स्तरसम्म जनता ओर्लेका देखिन्छन् ।

यसको मतलव नेपालका वर्तमान शासक केपी ओली असफल शासकको रुपमा नेपाली जनताको नजरमा परिसकेका छन् । अब उनले सच्चिएर शासन चलाउने अवस्था पनि नरहेका कारण सकिएरै जानु उत्तम विकल्प हुनेछ । सक्छौ भने असफल हुँदै गएको वर्तमानको गणतान्त्रिक व्यवस्थालाई नै सकेर बिदा हुन सकेका खण्डमा कम्तीमा गणतन्त्रका हत्यारा भन्ने उपनाम इतिहासमा दर्ज हुन्छ नि त । असल काम गरेर नाम कमाउन नसक्नेले खराब काम गरेर भए पनि नाम दर्ज गर्नुपर्छ ।

एउटा कर्मचारीदेखि डराउने शासक, कहाँबाट सफल शासक बन्न सक्ला ? आम जनताले नियमित रुपमा पाउन थालेको उज्यालोको सुविधा पाउन थाल्दा रिस गर्ने र भत्काउन खोज्ने शासक कसरी सफल शासक बन्न सक्ला ? त्यति मात्र होइन कि स्वदेशको सम्पत्ति अनेक तिक्डम गरेर, कुम्लो पारी विदेशमा लगेर थन्क्याउने अनि आफू सदाचारी शासक भएको कुरा जनताका माझमा ढोल बजाउने शासक सच्चिन सक्ने सम्भावना रहँदैन ।

यस्ता शासक सकिएरै जानुको अर्को कुनै उत्तम विकल्प रहँदैन । नैतिकता, सदाचारजस्ता सद्गुण गुमाएर भ्रष्ट मति र कर्ममा रमाउने शासक सकिएरै जानुपर्छ । केवल सच्चिएको नाटक गरेर सत्ताको कुर्सीमा अडिरहनु सदाका लागि असफल भइरहनु हो । यस्तै शासकका कुशासनले गर्दा देशको प्रगति सय, हजार वर्ष पछाडि धकेलिएर जाने हुन्छ । विगतमा शासक भइसकेका र तिनमा पनि असफलताको सिकार भइसकेका कसैले पनि अबका दिनमा शासनको बागडोर सम्हाल्ने र सफल बनाउने कुरा उद्घोष नगरेकै अनि सत्तारोहण नगरेकै राम्रो हुन्छ ।

वर्तमान शासक केपी शर्मा ओलीको शासन सत्ता असफल हुँदै गर्दाको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबका दिनमा सत्ताको बागडोर सम्हाल्ने मौका पाएको खण्डमा आफू बिल्कुलै सच्चिएर सत्तारोहण गर्ने कुराको उद्घोष गर्दै गरेको सुनिन्थ्यो । उनी सच्चिएर वा उस्तै पुरानै मानसिकताले गुज्रिएर सत्ता सम्हालेछन् भन्ने कुरा उनको भाषण वा भनाइ सुनेर कसैलाई पनि उनी सच्चिएको वा नसच्चिएको भन्ने कुरा थाहा हुने कुरा होइन । विगतमा उनीसहितका सबैजसो शासकले आफू सच्चिएरै शासकको भूमिकामा आएको कुरा उद्घोष गरेकै थिए ।

सपथ खाँदा पनि जनपक्षीय काम गर्नेछु भनी कसम खाएकै थिए । तर सत्ताको बागडोर सम्हालेको केही दिनपछि नै उनीहरुका भनाइ झुटा रहेछन्, उनीहरु केवल भनाइमा मात्र सच्चिएका रहेछन्, आत्मसात् गरेर सच्चिएका रहेनछन् भन्ने कुरा थाहा हुन पुगे । त्यसै गरी प्रचण्डको भनाइ कहाँसम्मको यथार्थ हो भन्ने कुरा उनले सत्ता सम्हालेर चाल्न थालेका कदमहरुबाट थाहा हुँदै जान्छ । तर हाललाई उनको परीक्षण गर्नु र साँचो–झुटो पर्गेल्नुको साटो पुरानो नेतृत्वलाई सल्लाहकार, अभिभावकको सम्मानित स्थानमा बसालेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नु नै श्रेयष्कर हुनेछ ।

अझ भन्ने हो भने गणतान्त्रिक शासन व्यवस्थाको सूत्रपात गर्ने नायक पात्र नै कमरेड प्रचण्ड थिए र हुन् पनि । तथापि गणतान्त्रिक व्यवस्थालाई जोगाउँदै मलजल गरेर त्यसको फल आम जनतालाई चखाउने कर्ममा प्रचण्ड स्वयं पनि सफल हुन सकेनन् त । समय नपाएको भन्ने कुनै गुनासो गर्ने ठाउँ पनि उनलाई खाली रहेको छैन । आम नेपाली जनतामध्ये बहुसड्ख्यक नेपालीलाई राजतन्त्रको तुलनामा गणतान्त्रिक शासन व्यवस्था नै उत्तम विकल्प हो भन्ने कुरा आन्तरिक हृदयदेखिको सोचाइ रहेको छ ।

तर गणतन्त्रका जिम्मेवार शासकले समेत त्यसलाई जोगाएर दरिलो बनाउने कर्ममा अपेक्षित तदारुकता नदेखाएको मात्र होइन कि त्यसको मूल्य–मान्यतालाई बिर्सेर सबैभन्दा महत्वको विषय धनलाई मान्दै गरेका घिनौना कर्मले गर्दा आजका दिनमा गणतन्त्रप्रतिको वितृष्णा आम जनताको मानसमा पलाएको हो । अबका दिनहरु यसरी व्यर्थमा बिताउनुको साटो नेतृत्वले आफू सच्चिएर तदनुसारका जन–अपेक्षित कर्म गरी अगाडि बढ्न सक्नुपर्छ । होइन भने आफू सकिएर गएको कुराको आत्मालोचना गरी सत्ताको दुर्गन्धित खेलबाट टाढा रहन सक्नुपर्छ । समय सधैँ एउटै नरहने भएकाले यति धेरै बलिदानीले स्थापना भएको गणतन्त्र धराशायी भएर जान बेर लाग्नेछैन । नेतृत्ववर्ग प्रस्ट हुन जरुरी छ, सच्चिएर कि सकिएर जाने होला त ?