सर्वमान्य ठानिएका केही प्रश्नहरु: केवल अपमान

0
Shares

‘आजकलका केटीहरु सबैका केटा हुन्छन्, केटा नहुने र भर्जिन केटीहरु कोही हुँदैनन् । ए नानी ! तिम्रो बारेमा भन त को छ, कहाँ छ, के गर्छ ?’ –सर्वमान्य प्रश्न ।

शायदै कोही नारी छन् होला यो प्रश्नबाट बच्ने । बिहे गरेर भित्र्याइएकी श्रीमती हुन् वा भाउजू, बुहारी, छोरी, नातिनी, भान्जी, बहिनी सब सम्बन्ध बिर्सिएर नारीको चरित्रमा कुदृष्टि औँल्याउन थाल्छन् । तपाईंहरु यस प्रश्न र प्रश्न उठाउने क्षमता भएका करोडौं समाजका सदस्यलाई कसरी हेर्नुहुन्छ ? केपल वस्त्र उतार्ने मात्र होइन, आफ्ना अमूल्य, संस्कारी शब्दवाणले सम्पूर्ण नारीलाई आजसम्म कतिवटा पुरुषको अँगालो बाधिएकी छौ भनी सोध्नु पनि एक चिरहरणको प्रकार हो ।

यसभन्दा त हास्यजनक कुरा के छ भने, नारी– ती सब नारी जो शिक्षित छन्, जसले आफ्ना छोरी–बहिनीलाई सम्मान र स्वाभिमानको जिन्दगीको लागि आत्मनिर्भर बनाउन सिकाउँछन्, तर तिनै नारीका सामु छोरा, बुबा वा कुनै पाहुना सर्वमान्य प्रश्न सोध्न थाल्छन्, तब नारी मौन बस्छिन् । नबसून् पनि कसरी ? शुभचिन्तकले आज उनीहरुको इज्जतको मात्रा तौलँदै छ । यिनीहरू सम्पूर्ण नारीलाई एउटै तराजुमा जोखेर हिँड्छन् । तर सोच्नुस् त त्यही छोरीले एउटा प्रश्न त्यही दाजु वा सरहको पुरुषलाई सोधिन भने, ‘थाहा छ, एउटा भनाइ– पुरुष सबै बोका हुन् ।

मलाई पनि हजुरको इज्जत र मर्यादा जान्न मन छ । जसरी मेरो इज्जतले हजुर र घर–परिवारलाई फरक पर्छ, त्यसरी नै तपाईंको नारीलाई हेर्ने नजर र विचारले हाम्रो परिवारको इज्जतमा फरक पर्छ । कतै हजुर पनि त्यही भीडको पुरुष त होइन ? जसलाई बाहिर बजारमा खुल्ला छोड्दा कैयौँ मेरा दिदीबहिनीहरु विनाकारण बलात्कार, ह्यारेसमेन्ट र असुरक्षित महसुस गरिरहेका त छैनन् ? शताब्दीदेखिको मान्यता छ– पुरुषहरु बोका हुन्छन् । अब भन्नुस् दाइ, काका तपाईंहरुले चोकमा बसेर कति केटीलाई जिस्क्याउनु, बिगार्नुभयो ?’

तब के हुन्छ ? त्यो पुरुष जो अघिसम्म सम्पूर्ण संसारका नारीको प्रवित्रताको प्रमाणपत्र वितरक अब आगो हुन्छ । भन्छ, ‘यत्रो साहस तेरो ? मनलाग्दी प्रश्न गर्ने, अनैतिक प्रश्न गर्ने, त्यो पनि सम्मान गर्नुपर्ने दाइ, काका बासँग !’ सके हात उठ्ला, नभए चरित्रहीनको छाप त पक्कै लाग्नेछ । के एक नारीलाई सोधिने सर्वमान्य प्रश्न र यी पुरुषलाई सोधिन सक्ने प्रश्नले एकै मनस्थिति र व्यङ्ग्य बोकेका छैनन् र ? तर पनि यसको प्रतिफल फरक छ ।

यहाँका छोरीहरु हाँस्छन्, एक घण्टा लामो उत्तर दिन्छन्, उनी त्यस्ती केटी होइनन् । अनि एक घण्टापछि तिनै पाहुना बोल्छन्, ‘चोरले म चोर हो भन्छ र ? केटीहरु सबैका केटा हुन्छन्, केटा नहुने र भर्जिन केटीहरु कोही हुँदैनन् ।’ अन्त्यमा उत्तर एउँटै छ भने, आखिर त्यत्रो वकालतको आवश्यकता किन ? यदि निर्णय मन लाग्दी सुनाउने भए । अझ अचमको कुरा त के भने, कानुनी वियय पढेर पास होलान् वा नहोलान्, कैयौँ वर्ष केस लडेर न्यायाधीश बन्लान् वा नबन्लान्, बिचरा कानुन पढ्ने विद्यार्थीहरु । तर एउटा जँड्याहा विना ८ कक्षा पास गरेको होस् वा पीएचडी, जुनसुकै विषयमा पास गरेका शिक्षित व्यक्ति हुन्, विनाकानुनी डिग्री आफ्नै स्व–जिन्दगीको आधारमा निर्णय र लाखौँ सर्टिफिकेट फटाफट निकाल्ने गरेका छन् ।

चियाको सुर्कोमा कसैलाई, भातको गाँसमा कसैलाई, हाँसोमा कसैलाई, मन नपरेकोमा कसैलाई फालाफाल छन् सर्टिफिकेटहरु, आजसम्म करोडौं निकालिसकेका छन्, भोलिका दिनमा करोडौं निकाल्नेछन् । साथै ती सक्षम, स्वाभिमानी आमा–छोरी र आफ्नो अस्तित्वमा प्रश्न खडा हुँदा लुरुक्क पर्ने एक्कासी छोरीको शब्दवाणीमा बढारिरहेको झाडुले झटारो हान्ने त सर्वोपरि छ ।

के ती आमालाई यतिसम्म पनि याद रहँदैन, जिन्दगीमा कैयौँपटक पाउरोटी लिन जाँदा, पुरुषसँग भेटघाट र सानो हाँसोमा, कुनै दिन अफिसमा अबेर बस्दा, कुनै दिन अफिसको स्टाफले घरसम्म छोडिदिँदा, कुनै दिन पानीपुरीको लाइनमा त कुनै दिन पुरानो साथी, गाउँले दाजुभाइसँगको भेटघाटमा सडककिनारमा उभिँदा उनि बारम्बार अपवित्र हुने गरेकी छन् । कैयौँपल्ट दाइ–भाइ, बा र श्रीमान्को लात खाएकी छन् ।

के उनलाई एकपटक पनि लागेन यो साधारण मानेर सोधिने प्रश्न एक नारीमाथि सीधा–सीधा अपमान हो भनेर ? व्यापार, व्यवसायमा लागेका पुरुषलाई, ‘पैसाको भरमा कति केटी घुमाउँदै छौ त, विवाहबाहिर सम्बन्ध पैसा हुने सबैको लागि साधारण कुरा त हो नि भन न भन ?’ तराईका कतिपय बासिन्दालाई, दाइजो माग्ने त सामान्य र सर्वोपरि कुरा हो, भन न तिमीले कति दाइजो पचायौ ? कति दाइजो नल्याउने बुहारीलाई कसरी जिउँदै मार्ने भनेर आफ्नालाई सिकायौ ? तिम्रै घरमा कति केटी दाइजोको नाममा मरे ?’ के यी प्रश्न गर्नु समान्य हुन् ? पक्कै पनि होइनन् ।

यदि यी सम्पूर्ण प्रश्न सामान्य जनजीवनमा भइराख्ने घटना भए पनि सोध्नु अपमानपूर्ण छ भने कसरी सर्वमान्य प्रश्न सामान्य छ ?
आश्चर्य त के छ भने, यहाँ नारी नै नारीका दुश्मन छौँ हामी, आफूले पनि जिन्दगीभर अपमान र लात्ती सहेका आमाहरु छोरीमाथि यी प्रश्न जायज सम्झन्छन्, उनीहरुलाई अपमान देखाइनै दिँदैन । ती केटीहरु जसका केटासाथीसँग कोही भेटघाट हुँदैन, न समाजलाई कानोकान खबर छ, न त साथीहरुलाई, तर उनीहरु अपवित्र भने शतप्रतिशत हुन्छन् ।

कोठामा बस्दा, किराना पसल जाँदा, सिलिन्डर र पानी बोक्दा, आफ्नो घर भाडामा लगाउँदा, घरबेटीसँग कुरा गर्दा हरेक पुरुषसँग हरेक प्रकारका सम्बन्ध बन्छन्, यो सामान्य नै हो । हामी नेपाली त्यहीमाथि विनासम्बन्ध कहाँ बोल्छौँ र ! तर कुरा के त ? यो समाजमा कसलाई नारीको चरित्रमा प्रश्न उठाउने हक छ ? जीवनसाथी र बाबुआमा । तर त्यहाँ पनि सर्तहरू लागू हुनेछन्, विनाप्रमाण मन लाग्यो भन्दैमा आफ्नी छोरीसँग, श्रीमान्–श्रीमतीसँग विनाकुनै शङ्कास्पद व्यवहार देखी वा कुनै प्रमाण नभेटीकन पवित्रताको प्रश्न राख्ने हक छैन ।

यसको अर्थ यो होइन कि सम्झाउने र बुझाउने हक छैन । तर मानसिक तनाव, अपमान र चारित्रिक हत्या गर्ने हक भने छैन । साथै जीवन साथीले पनि सबै कुरा यकिन नगरी आफ्नो श्रीमान्, श्रीमतीसँग अपमानित शब्द प्रयोग गर्ने, कुट्ने, पिट्ने कार्य स्वीकार्य छैन । एउटा नारी कुनै सम्बन्धमा रहँदा प्रमाणहरू हुन्छन्, फोन कल, होटलमा भेटघाट, फोटोहरु, म्यासेजहरु जुन प्रमाणित गर्न सकिन्छ तर दुनियाँको कुनै कुनामा एउटी नारीले कुनै पनि पुरुषलाई सथी बनाएकी छैन भने उसको प्रमाण के हुन सक्ला ? कसैलाई मनमा लाग्यो भन्दैमा जोसँग जसको नाम पनि जोडिदिने ? करोडौँको भीडमा कलियुगमा सीता जन्मिन किन नपाउने ? सीता छोडौँ, कुनै नारीले पुरुषहरुको खोजी नगरी किन बाँच्न नपाउने ?

आखिर किन ? सर्वमान्य प्रश्न किन कुनै नारीको लागि अपमान पुण प्रश्न भनेर चिनिएको छैन ? अझै पनि घर–परिवार छोडेर पढ्न बस्ने, जागिर खाने नारीको चरित्रमा बारम्बार प्रहार छ । स्वतन्त्रताको हक भनेर राखिएको संविधानको धारा पुरुषका लागि मात्र प्रयोगमा छ । अझै पनि सम्पूर्ण नारीको एकल यात्रा, भ्रमण कलंकित छ ? आखिर युनिभर्सिटीको सम्मानित पदमा काम गर्ने शिक्षक, अफिसको हाकिमहरु, सर्वोच्च अदालतको वकिल सबै नारी नै भए पनि एउटा नारीलाई विनाआपत्तिजनक स्थितिमा नदेखी चरित्रमा प्रश्न उठाउनुहुँदैन र यो कानुनीरुपमा दण्डनीय छ भन्ने कुरामा आवाज किन छैन ? आखिर चारित्रिक प्रश्न गर्ने अनुमति विनाकारण कसैलाई छैन, शब्दको प्रयोगलाई सोचेर गर्नुपर्छ, यो सोचको विरोध गर्नुपर्ने हुन्छ भन्ने भनाइमा आजका नारी नै उत्रिन सकेका छैनन् ।

समाज मर्यादित बनाउने प्रयत्न सबैले गर्नुपर्दछ तर हरेक प्रश्न सोध्ने र आक्षेप लगाउनेहरू विना प्रमाण कसैमाथि खनिन त पाइँदैन नि ! यदि यो अपमान विनाप्रमाण गर्ने दुस्साहस कसैले गर्छ भने यसको कानुनी कारबाही पनि हुन्छ र त्यो कारबाही कडा बनाउने जिम्मेवारी कानुनको उच्च पदमा रहेका नारीको हुन आउँछ । एउटी केटीले समाजको अनावश्यक प्रश्नका कारण मानसिक तनाव र अपमान विनाकारण भोग्नुपरेको छ भने कानुनी सहयोग पाउनुपर्छ । साथै सम्पूर्ण नारीलाई थाहा हुनुपर्ने हुन्छ, यो सर्वमान्य प्रश्न नारीलाई अपमानित बनाउने प्रयत्नमा सोधिएको हो र यसको बहिष्कार हुनुपर्छ ।

म यो सर्वमान्य प्रश्नलाई नारी अपमान हो भनी चिन्दछु । तपाईंहरु पनि यस अपमानलाई नस्वीकार्नुस् । यदि कुनै व्यक्तिहरु विनाप्रमाण हजुरको इज्जतको लिलामी गर्ने प्रयासमा छन् भने कानुनी सहयोग लिन नहिचकिचाउनुहोस् । आफू स्वाभिमानी बन्नुहोस् र स्वाभिमानलाई लत्याउने जो–कोहीलाई पनि चाहे कठघरा होस् वा सामाजिक बहिष्कार गर्न पछि नपर्नुस् ।

द्रौपदीलाई पाँच पाण्डव गुहार्न परे पनि, सीतालाई राम पर्खिनुपरे पनि कलियुगमा स्वाभिमानी नारी आफ्नो इज्जतको लागि कसैलाई नगुहारी लड्न सक्छे । यसैले यी प्रश्नहरुसँग नडराऔँ, आफ्नो र सम्पूर्ण नारीको इज्जतको संरक्षण गर्न यस्ता प्रश्न विनाप्रमाण कसैलाई सोध्न अनुमति नदिऔँ । र, यस्ता प्रमाणपत्रहरू निकाल्ने कम्पनीहरुको जति सक्दो विरोध गरौँ ।