एक्सन फिल्ममा काम गर्नु रिस्की रहेछ : प्रदीप खड्का


नयाँ वर्षलाइ लक्षित गर्दै लामो समयपछि सिनेमा हलमा शुक्रबार एक्सन जनराको फिल्म पिताम्बर रिलिज हुने भएको छ।

फिल्म निर्मात्री समेत रहेकी कृषा चौलागाईंको निर्देशनमा बनेको पिताम्बरबारे जानकारी दिन राजधानीमा मंगलबार राखिएको सञ्चारकर्मी भेटघाटमा फिल्मका निर्देशकदेखि कलाकारसम्मले फिल्मबारे आफ्नो अनुभव बाँडेका छन्।

भेटमा बोल्दै निर्देशक कृषा चौलागाईंले आफूलाई एक्सन जनरा मनपर्ने र सोही किसिमको फिल्म निर्देशन गर्र्दा निर्देशकले एक्सनको मर्म बुझेर अझ राम्रोसँग देखाउन सकिन्छ भन्ने हिसाबले काम गरेको बताइन्। अभिनेता प्रदीप खड्काले एक्सन जनराको पिताम्बरमा काम गर्नका लागि शारीरिकदेखि मानसिक रूपमा पनि आफूलाई तयार पारेको बताए।

‘एक्सन फिल्ममा अन्यमा भन्दा रिस्की हुने रहेछ। मैले मेरो अभिनय करिअरमा नयाँपन हुन सक्ला भन्ने र करिअरलाई लम्बाउने हिसाबले एक्सनमा जानुपर्छ कि भन्ने लागेर पनि फिल्ममा काम गरेको हुँ’ प्रदीपले भने। अर्का अभिनेता सौगात मल्ले आफूले पहिले गरेका फिल्मभन्दा पिताम्बर धेरै कुराले फरक रहेको बताए। ‘यस किसिमको भूमिका त धेरै गरियो होला, तर यसमा कथा सोच र परिस्थितिदेखि हरेक कुरा फरक छ।

म जन्मिएकै स्थान परासीमा फिल्म सुटिङ भएकाले आफ्नो ठाउँमा पनि फिल्म गरियो है भन्ने भयो र पहिलेको सम्झनाहरू पनि ताजा भए’ सौगातले सुनाए। अभिनेता प्रमोद अग्रहरीले फिल्ममा आफ्नो ठाउँमा सुटिङ भएकाले त्यसलाई कसरी अझ राम्रो बनाउने भन्ने एक किसिमको चिन्ता भए पनि फिल्मका कलाकारहरू सहयोगी भएकाले काम गर्न धेरै सहज भएको जनाउ“दै एक्सन फिल्म भएकाले अभिनयको हिसाबले अन्य कलाकार भन्दा जेठो रहेको दाबी गरे।

अभिनेत्री दिव्या रायमाझीले फिल्ममा आफू सशक्त रूपमा प्रस्तुत भएको बताइन्। ‘मेरो रोल स्ट्रड्ग लागेर अभिनय गरेकी हुँ। मलगायत सुपुष्पा दिदी र अरु सबैको क्यारेक्टर आ–आफ्नो ठाउँमा निकै नै बलियो छ। एक जना पनि भएन भने स्टोरी नै कम्प्लिट हुन्न जस्तो लाग्छ। फ्लोरमा गएको तीन दिन अघि स्क्रिप्ट पाएको थिए त्यसपछि नै सक्दो मिहिनेत गरेको छु’ दिव्याले भनिन्।

अर्की अभिनेत्री सुपुष्पा भट्टले पनि यो फिल्म आफूले पहिले गरेका फिल्मभन्दा फरक लागेको र मान्छेले देख्दा अनुमान नै गर्न नसक्ने भूमिकामा आफू रहेको बतँइन्। ‘यस किसिमको एक्सन फिल्म कहिल्यै नगरेकोले तयारी गर्न केही समय चुनौतीपूर्ण नै रहेको थियो’ सुपुष्पाले सुनाइन्।

फिल्ममा सौगात, प्रदीप, दिव्या, सुपुष्पा र प्रमोदका साथमा दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्। केपी फिल्म्स्ले पुरूषोत्तम प्रधान फिल्म्स्संग सहकार्य गरेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, हिमाल केसीको द्वन्द्व र पुरूषोत्तम प्रधानको छायाकंन रहेको छ। फिल्म विशाल चौलागाईंले निर्माण गरेका हुन्।