कर्मामा दुर्गेशको सानदार इन्ट्री


म्युजिक पर्फमर दुर्गेश थापा यतिबेला देश विदेशका स्टेजदेखि फिल्ममा समेत छाइरहेका छन्।

यस्तैमा आगामी शुक्रबार रिलिजमा आउने फिल्म कर्मामा उनले सानदार रूपमा इन्ट्री मारेका छन्। कर्माका लागि उनले गाएको टाइटल गीत सार्वजनिक गरिएको छ।

गीतमा शब्द, संगीत र एरेन्जमेन्ट पनि दुर्गेशकै छ। ब्याकग्राउन्ड भोकल भने आरसी रिमाल र भूषण खतिवडाको छ। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिने गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्य उजागर गरेको छ। गीतको भिडियोमा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतका साथ दुर्गेश पनि छन्।

कर्माको ट्रेलर नेपालसहित कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको छ। विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले फिल्ममा एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्। फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतले अभिनय गरेका छन्।