काठमाडौं ।
अन्तराष्ट्रीय ओलम्पिक कमिटी (आईओसी) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा हस्तक्षेप नगर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको नाममा पत्र पठाएको छ ।
एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी एण्ड ओलम्पिज्म ३६५ डाइरेक्टर जेम्स म्याकलियोडद्वारा हस्ताक्षरित बिहीबार पठाएको उक्त पत्रमा एनओसीको वर्तमान समस्याको समाधान गर्नेतर्फ आईओसी गम्भीर रहेको उल्लेख गरिएको छ । पत्रमा एनओसी र पाँच राष्ट्रिय खेलकुद महासंघहरूसँगको सम्बन्धलाई सुधार्न र स्थायित्वमा ल्याउन आईओसी र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले पहल गरिरहेको स्पष्ट पारिएको छ । “हामी एनओसीको अवस्थाको बारेमा तपाईंले आईओसीलाई गर्नुभएको हालैको पत्राचारलाई उल्लेख गर्दछौं । तपाईंको चिन्ताको जवाफमा हामी तपाईंलाई आश्वस्त पार्न चाहन्छौं कि आईओसी र ओसिएले ओलम्पिक आन्दोलन र नेपालका खेलाडीहरूको हितमा एनओसीको समग्र अवस्थालाई सकेसम्म चाँडो सुधार र सामान्य बनाउन एनओसीसँग मिलेर काम गरिरहेको छ”–पत्रमा लेखिएको छ ।
नेपाल ओलम्पिक कमिटी र पाँच राष्ट्रिय खेलकुद महासंघबीच १० मार्च २०२५ मा कुवेतमा भएको सम्झौतापछि एनओसीसँगको सम्बन्धको बारेमा उत्पन्न भएका कानुनी विवादहरू समाधान गर्न एक महत्त्वपूर्ण कदम उठाइएको थियो । जसअनुसार १९ मार्च २०२५ मा एनओसीको साधारण सभा सम्पन्न गरिएको थियो । जसमा ओलम्पिक चार्टरको नियम २८.१.२ अनुसार पाँच राष्ट्रिय खेलकुद महासंघलाई एनओसीको पूर्ण सदस्यको रूपमा स्वीकार गरिएको छ । पत्रमा उक्त सम्झौताले कानुनी कारबाही फिर्ता लिन र सम्बद्ध महासंघहरू र एनओसी बीचको सम्बन्धलाई सुधार्न ठूलो मद्दत पुर्याएको उल्लेख गरिएको छ ।
यस मुद्दालाई सच्याउने क्रममा आईओसी र ओसिएले नेपाल ओलम्पिक कमिटीको विधान र निर्वाचन प्रक्रिया स्पष्ट पार्नको लागि थप काम गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । एनओसीसँगको निरन्तर सहकार्यको महत्वलाई औंल्याउँदै आईओसीले ओलम्पिक चार्टर र ओलम्पिक आन्दोलनको प्राथमिकतासँग मेल खाने र कुनै पनि अनुचित हस्तक्षेपबाट बच्नको लागि सहयोगको आह्वान गरेको छ । आईओसीको सो पत्राचारले नेपाल ओलम्पिक कमिटीको समग्र अवस्थालाई सुधार गर्न र देशका खेलकुद गतिविधिहरूलाई सहज बनाउनका लागि नयाँ चरणको सुरुआत हुने आशा ब्यक्त गरिएको छ ।

प्रतिक्रिया