कैयौँ महिनादेखि गरेको काममा विश्राम दिने समय आएको छ । बिहानबिहानै तुसारो लाग्नुअगाडि नै ढक्ढक गर्दै प्रायः भक्तपुरको सबै ठाउँमा यो आवाज सुन्न सकिन्छ । जाडो महिना शुरु भएदेखि नै उनीहरु बालबच्चा नभनी काम गर्छन् । उनीहरूको काम बिहानका रातिको १ बजेदेखि बेलुकाको ७–८ बजेसम्म निरन्तररुपमा चल्छ । पुसदेखि वैशाखसम्म उनीहरू मेहनत गरी काम गर्छन् ।
अविकसित क्षेत्रबाट बसाइँ सरी छोराछोरी र आफ्नो पेट पाल्न पूरै सन्तान नै इँटा पारेर बस्छन् । न चिसो, न थकान भनी निरन्तररुपमा इँटा पारेर ६ महिनापछि आफ्नै कर्मथलोमा गई जीविका चलाउँछन् । भक्तपुरलाई नेपालकै धेरै इँटाभट्टा पाउने जिल्लाको रूपमा हेरिन्छ । जहाँ हरेक ठाउँमा बाक्लोरुपमा भट्टा देख्न सकिन्छ । रातै रङ्गमा छ्यापछ्याप्ती देखिने इँटाहरुले हरेक व्यक्तिको मन लोभ्याउँछ ।
तर ती इँटा बनाउने कामदार को हुन्, कस्ता हुन्छन् ? प्रायः कसैले सोच्दैनन् । शहरमा घर भएको मानिसले पक्कै पनि त्यो काम गर्दैन, ऊ मात्र काम पाइएन भनी भौँतारिन्छ । तर गाउँमा एकछाक टार्न मुस्किल हुने व्यक्तिलाई यो काम पनि निकै महत्वपूर्ण हुन पुग्छ । हरेक साल इँटाभट्टाहरुले धेरै मानिसलाई इँटा बनाउनको लागि खटाउँछन् ।
जसको आर्थिक अवस्था कमजोर हुन्छ, जो शहरदेखि टाढा जटिल जीवन बाँचिरहेका हुन्छन्, उनीहरुलाई प्रायः भट्टाको मालिकले बोलाउने गर्छ । खेती किसानीले मात्र छाक टार्न गाह्रो हुने कारणले उनीहरु सजिलै आकर्षित हुन्छन् । कामदार रहर लामा भन्नुहुन्छ, ‘बर्सेनि हिँउद महिनामा म र छोरा इँटा पार्नकै लागि काभ्रेदेखि आउने गरेका छौँ, नातिनातिनीलाई बोर्डिङ स्कुलमा हालेका छौँ, जसको लागि तरकारी बेचेर, किसानी गरेर पनि नपुगेसी हामीले यो बाटो रोज्यौँ, हामी बाबुछोराले दिनको ५ हजार इँटा पारेर दिउँसोभरमै सुकाउन पनि राम्रैसँग भ्याउँछौँ ।’
मङ्सिर महिनादेखि वैशाखसम्म निरन्तर सो काम गरेर प्रतिव्यक्ति ४ लाख ५० हजार इँटा पारी २ लाख रुपियाँ जति आम्दानी हुने कुरा राजेन्द्र लामाले बताउनुभयो । त्यस पैसाले रासनपानी कटाएर बाँकी पैसा छोराछोरीको पढाइको लागि प्रयोग गर्ने गरेको उहाँहरूको कथन छ । अब उहाँहरुको जीवनमा परिवर्तन आउने समय आएको छ । किनभने ६ महिना काम गरेपछि ६ महिना उहाँहरुले यस कामबाट मुक्ति पाउनुहुन्छ । ६ महिनाको कामको थकान, कठिनाइको फलले उहाँहरु मात्र नभई अरुलाई पनि यो काम गर्न उत्प्रेरित गर्छ । जति चिसो भए पनि आफ्नो परिवारको लागि खटिएर काम गरेको पारिश्रमिकले उहाँहरुको जीवनको रङ्ग बदल्न मद्दत गर्छ ।
दीपेन्द्र लामा भन्नुहुन्छ, ‘श्रीमती, आमा, बालबच्चालाई गाउँमै छोडी ६ महिना दुःख गरेँ । घरमा एकपटक फोन गर्ने फुर्सद हुने थिएन । अब त काम पनि सकियो, थकाइ मात्र मार्ने होइन, परिवारसँग रमाइलो गर्ने बेला आएको छ, खुशी लाग्छ ।’ ६ महिनादेखि आफ्ना बच्चालाई देख्न नपाएको तर अब त्यो दूरी सकिएकोले गाउँमै गई आमा र श्रीमतीलाई काम सघाई बालबच्चालाई पनि समय दिने उहाँ बताउनुहुन्छ ।
यहाँ रहर लामा, राजेन्द्र लामा र दीपेन्द्र लामा मात्र खुशी छैनन्, त्यस्तै हरेक भट्टामा काम गर्ने उहाँहरुजस्तै अरु मानिस पनि यस विश्रामलाई सम्झी खुशी हुँदै छन् । उहाँहरुले वैशाखदेखि नै आफ्नो परिवारसँग सँगै बसी खुशी साट्न पाउनुहुने भएको छ ।
प्रतिक्रिया